काठमाडौं । दुईहजार केजी चामल भन्सारले जफत गरेपछि कपिलबस्तुका व्यवसायीहरु आन्दोलित बनेका छन् । मंसिर २४ गते भारतको बरेनीबाट नेपाल ल्याउँदै गरेको २ हजार किलो चामल भन्सार र सशस्त्रप्रहरीको संयुक्त टोलीले नाकाबाट नियन्त्रणमा लिएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।
२४ गते रौनक ट्रेडिङका नामबाट चन्दौटा स्थित राम प्रसाद बानियाँको नाममा पठाएको चामल भन्सारले गिरफ्तार गरेको थियो । व्यवसायीहरुले उक्त चामल कानूनी रूपमा नै ल्याईएको दाबी गर्दै आएका छन् । कृष्णनगर उद्योग वाणिज्य संघको तर्फबाट सचिव लक्ष्मण भुषालले जारी गरेको विज्ञप्तीमा सो चामलको विल १०३ रहेको र सो चामल कानूनी रुपमा ल्याईएको दाबी गरिएको छ ।
तर, भन्सार कार्यालय र सशस्त्रप्रहरीले भने यो कुराको खण्डन गरेको छ । भन्सार कार्यालयका प्रमुख विन्देश्वर लेखकले यो गैरकानूनी रहेको भेटेर सशस्त्रप्रहरीले बरामद गरिसकेकोले प्रक्रिया पूरा नगरी छाड्न नसकिने स्पष्ट पारे । उनले बुधबार यसको हकदाबी सूचना जारी गर्ने जानकारी पनि दिए ।
उता, व्यवसायीहरुले भने आफूसँग विल हुँदाहुँदैपनि प्रहरीले दुखदिने नियत र प्रतिशोधको हिसावमा सामान बरामद् गरेको आरोप लगाएका छन् । आफूहरु डेलिगेशन जाँदा पनि ‘जे गर्न सक्छौ गर’ भन्ने जस्ता अनपेक्षित व्यवहार गरेको आरोप उनीहरूले लगाएका छन् ।
तर, कार्यालय प्रमुख लेखकले भने ‘कोहीपनि व्यक्ति वा संस्थाले बरामद् गरेको समान छाड्नूस् भन्दै डेलिगेसन आएको आधारमा मात्रै सामान छाड्ने हो भने भन्सारको काम के त ? भोलिदेखि प्रक्रिया सुरू हुन्छ । ६८ हजारको सामान छ त्यसको धरौटी राखेर हकदाबी गर्न सम्बन्धित पक्षले सक्छन् ।’
उनले कानूनी प्रक्रियामा पुग्दा उनको समान कानूनी छ भन्ने ठहर भयो भने भन्सार सामान फिर्ता दिन तयार रहेको स्पष्ट पारे । उता, सशस्त्र प्रहरी भने गैरकानूनी रुपमा ल्याएको पाईएपछि सामान बरामद गरेको बताउँछ ।
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक(डिएसपी) तारिक चन्द्र चौधरीले पछिल्लो समय भारतबाट अबैधानिक रुपमा चामल नेपाल आयात गर्ने र नेपाली बोरामा हालेर विक्री गर्ने गरेको भेटेपछि प्रहरीले कडाई गर्दै जाँदा यस्तो भेटेको जानकारी दिए । आफूहरुले समातेर भन्सारलाई बुझाएको बताउँदै बाँकी काम अब भन्सारकै हातमा रहेको पनि उनले स्पष्ट पारे ।
भन्सारले अहिले मान्छे फरार रहेको भनेर सामान मात्रै जफत गरेको छ । सामान बोकेर आएको गाडी भाडाको रहेको पाईएपछि भन्सारसँगको समन्वयमा गाडी भने फिर्ता गरिसकिएको प्रहरीले जनाएको छ ।
यसैबीच, यही चामल बरामद गरेकाे विषायलार्इ लिएर त्यहाँका व्यवसायीहरु भने अान्दाेलित भएका छन् । उनीहरुले चामल जफतकाे विषयलार्इ लिएर बुधबार दिउँसाे १२ बजेसम्म कुनैपनि सवारी र पसलहरु नखाेल्ने निर्णय गरेका छन् । उनीहरुले त्यसपछि पनि कालाेपट्टी बाँधेर काम गर्ने निर्णय पनि गरेका छन् ।