arrow

कीर्तिमानी पलेशा आउँदै, यस्तो छ नगरपरिक्रमाको रुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
palesha-govardan-bronze-med.jpg

काठमाडौँ । पेरिस पारालिम्पिकमा कास्य पदक जितेर कीर्तिमान रच्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन अहिले काठमाडौँ उत्रदैछिन् । उनलाई बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई अहिले बिहान धुमधामका साथ स्वागत गरी नगर परिक्रमा गराइन लागेको छ । 

परिषदका अनुसार साढे ८ बजेदेखि नगर परिक्रमाको कार्यक्रम शुरु हुनेछ । 

 उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने परिषद्ले जानकारी दिएको छ ।

कस्तो रह्यो पलेशाको पेरिस पारालिम्पिक्स ?
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर क्वार्टरफाइनलमा ब्रजिलकी सिल्भाना फर्नान्डेससँग २ अंकले अग्रता लिएको अवस्थामा अन्तिम २० सेकेन्ड सम्हालिन नसक्दा १०–८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् । 

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । 

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । 

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । 

त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

यसैगरी  सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । 

६५ लाख पाउने
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छिन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् ।

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल गृष्मकालीन–शीतकालीन–पारा–विशेष तथा विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।

साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ