काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै ठूलो जटिलतालाई पार गरेर जारी गरिएको संविधान सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
तेहैं राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने – संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको छ ।
प्रधानमन्त्री दाहालले मधेस, पहाड र तराईका जनताको स्वीकार्यलाई बढाएर देशको एकतालाई बलियो बनाउन सकिने बताउँदै “तीन दलबीच आज छलफल भएको छ, अब केही दिनभित्र चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन कार्यलाई टुङ्गोमा पुर्याउन सबै सकारात्मक छौँ भने ।”
पुनःनिर्माणका काम अगाडि बढाउन लाग्दालाग्दै पनि सन्तोषजनक हुन नसकेको स्वीकार्दै उनले भने, “ मुलुकको समृद्धिका लागि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ ।”
प्रधानमन्त्री दाहालले मुलुकको पहिचानमा ज्यापु समुदायको सभ्यता र संस्कृतिले महत्वपूर्ण योगदान दिएको बताउँदै मौलिक पर्वका रुपमा स्थापित भएका सबै संस्कृतिलाई जोगाउनका लागि नयाँ पुस्ता त्यसतर्फ आकर्षित हुनुपर्ने छ भने। ज्यापू संस्कृति विकास कोषलाई १५ लाख उपलब्ध गराउने घोषणा पनि प्रधानमन्त्री दाहालले गरे।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा सम्मानित ननिता महर्जनलाई राष्ट्रियस्तरमा सम्मान गर्ने प्रतिबद्धता जनाउँदै विभेदमा परेकाको हितका लागि सरकार क्रियाशील रहेको बताए ।
कोषका संरक्षक तीर्थराम डङ्गोलले कोषमा रकम वृद्धि र खेलाडी महर्जनलाई सम्मानका लागि आग्रह गर्दै ज्यापू भनेको किसान हो, राष्ट्रको गौरव पनि हो भने । डङ्गोलले काठमाडौँ उपत्यकामा ज्यापूका अधिकांश घर भूकम्पमा परी उनीहरुले दुःख पाइरहेकाले पुनःनिर्माणका कार्य छिट्टो गर्न सरकारसंग आग्रह गरे।
कोषका अध्यक्ष मङ्गलसिंह महर्जनले ज्यापू दिवसको महत्व क्रमिक रुपमा बढ्दै गएकोमा खुसी व्यक्त गरे। सो अवसरमा विभिन्न क्षेत्रबाट समाजको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
यसअघि सो समूदायले विभिन्न टोल तथा स्थानबाट बाजागाजा, झाँकीसहित पदयात्रा गरेका थिए । काठमाडौँ उपत्यकाका कृषक ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चाडका रुपमा आज यमरी पकाएर खाने चलन छ । आजको दिनलाई यमरी पुन्हीसमेत भनिन्छ । रासस