- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पेरिस पारालिम्पिकमा कास्य पदक जितेर कीर्तिमान रच्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्केकी छिन् । उनी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा भव्य स्वागत गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदले उनको भव्य स्वागत गरेको हो । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई अहिले बिहान धुमधामका साथ स्वागत गरी नगर परिक्रमा गराइएको छ ।
उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिएको थियो ।
सो क्रममा आफ्नो भनाइ राख्दै पलेशाले खेलकुदमा लागेर आफूले ठूलो उपलब्धि हासिल गरेको भन्दै सबैलाई धन्यवाद दिएकी छिन् ।
कस्तो रह्यो पलेशाको पेरिस पारालिम्पिक्स ?
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर क्वार्टरफाइनलमा ब्रजिलकी सिल्भाना फर्नान्डेससँग २ अंकले अग्रता लिएको अवस्थामा अन्तिम २० सेकेन्ड सम्हालिन नसक्दा १०–८ ले पराजित भएकी थिइन् ।
दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् ।
छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।
नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् ।
त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।
यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।
६५ लाख पाउने
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छिन् ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् ।
नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल गृष्मकालीन–शीतकालीन–पारा–विशेष तथा विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।
साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ ।
नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।