arrow

स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत : सभापति देउवा

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
deuba-at-tarun.jpeg
ललितपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताएका छन् । 
 
नेपाल तरुण दल केन्द्रीय समितिद्वारा मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दै देउवाले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेको बताए । देश सङ्घीयतामा गइसकेकाले २०७४ माघ महिनासम्म स्थानीय, प्रान्तीय तथा केन्द्रीय तहको निर्वाचन गराउन आवश्यक रहेको उनको धारणा थियो । 
 
“संविधानको कार्यान्वयन गराउन काँग्रेसको काँधमा जिम्मेवारी आएको छ”– सभापति देउवाले भने। यसका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प छैन उनले अगाडि थपे। 
 
सभापति देउवाले मधेस र पहाडकाबीचमा खाडल नहोस् भनेर संविधान संशोधन प्रस्ताव ल्याएको बताए । संशोधन प्रस्ताव सहजरुपमा पास हुने उनले विश्वास व्यक्त गरे। अब देश चुनावी मैदानमा गएकाले गाउँगाउँ, जिल्लाजिल्ला गएर तरुण साथीले पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न निर्देशनसमेत दिए । सभापति देउवाले स्थानीय निकायको चुनाव जित्नसकेमा राष्ट्रिय राजनीतिमा काँग्रेस अग्रपङ्क्तिमा रहनसक्ने भएकाले त्यसतर्फ पार्टीका कार्यकर्तालाई निर्देशन दिए । 
 
सभापति देउवाले तरुण दलमा काम गरिसकेकालाई पार्टीमा स्थान दिनेसमेत बताए । छिट्टै पार्टीको केन्द्रीय विभाग बनाउने तयारी भएकाले त्यस स्थानमा तरुण साथीलाई समावेश गराउने उनको प्रतिबद्धता थियो । देउवाले युवा पुस्तालाई हाँक्ने किसिमको काम नवनिर्वाचित तरुण दलको काँधमा आएको समेत स्पष्ट पारे। स्थानीय निकायलगायत अन्य निर्वाचनमा काँग्रेसलाई विजयी गराउन तरुण दलको भूमिका उल्लेखनीय हुनेमा उनको विश्वास थियो । 
 
सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको अवस्था गम्भीर रहेकाले त्यसतर्फ पार्टीपङ्क्ति सजग रहनुपर्नेमा जोड दिए । संविधान कार्यान्वयन र संशोधन प्रस्तावलाई पारित गराउन मधेसी मोर्चा र नेकपा (एमाले)लाई विश्वासमा ल्याउन काँग्रेसले पहल गर्नुपर्नेमा उनले जोड दिए । 
 
देशमा देखिएको समस्यालाई समाधान गराउन राजनीतिक दलबीच सहकार्य र सहमतिको विकल्प नरहेको बताउँदै पौडेलले संविधानले सङ्घीयता, गणतन्त्र, समावेशीता र लोकतन्त्रलाई स्थापित गराएकाले यसको कार्यान्वयन हुनु जरुरी रहेको छ भने । 
 
मधेसीको भावनालाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै वरिष्ठ नेता पौडेलले काँग्रेसले लिएको मूल्य, मान्यता, चरित्र र आचरणलाई शिरोधार गरी तरुण दल अघि बढ्नसकेमा पार्टी मजबुद हुने विश्वास व्यक्त गरे। पौडेलले काँग्रेसलाई हाँक्नसक्ने युवालाई तरुण दलले तयार गर्नुपर्ने धारणा व्यक्त गरे।
 
 काँग्रेस नेता बालकृष्ण खाँडले तरुण दल युवाको संस्था भएको बताए । काँग्रेसलाई मजबुद बनाउन, पार्टीले लिएको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन तरुण दलको भूमिका सशक्त हुने उनले विश्वास व्यक्त गरे। 
 
रक्षामन्त्री समेत रहेका तरुण दलका पूर्व अध्यक्ष वालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि समेत तरुणको भूमिका उल्लेखनीय हुनुपर्नेमा जोड दिँदै मुलुक विभिन्न तहको निर्वाचनको संघारमा रहेकाले काँग्रेसलाई बहुमत दिलाउन तरुण दल सक्रियरुपमा लाग्नुपर्दछ भने । 
 
नवनिर्वाचित अध्यक्ष जितजङ्ग बस्नेतले सङ्गठनलाई मजबुद किसिमले अगाडि बढाउन आफ्नो कदम रहने बताए । युवाको सोचअनुसार तरुण दललाई अघि बढाउनेसमेत उनको प्रतिबद्धता रहेको थियो । 
 
दलको चौथो महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष जितजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्ष विद्वान गुरुङले नेतामाझ सपथ खाएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ