arrow

कास्यपदक विजेता पलेशालाई कर नकटाइ ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
palesha-kp-o;i-81-5-19.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई पेरिस पारालिम्पिकमा कास्यपदक दिलाउन सफल खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट गरेका हुन् । 

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गत भदौ १४ गते सम्पन्न तेक्वान्दोको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । 

उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । नेपालले अहिलेसम्म यति ठूलो सफलता हासिल गर्न सकेको थिएन । 

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए ।

‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारालिम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुशी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ’’, प्रधानमन्त्री ओलीले भने । 

उनले अगाडि भने, ‘यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुराना कीर्तिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’

सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए । 

पलेशा बुधबारै स्वदेश फर्केकी हुन् । उनलाई यसअघि नगर परिक्रमा गराइएको थियो । दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले पनि सम्मान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ