काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) का डाइरेक्टर जनलर गाय राइडरले नेपालको संसदमा विचाराधीन रहेको श्रम ऐनमा नो वर्क नो पे को व्यवस्था प्रति आपत्ती जनाएका छन् ।
आइएलओ स्थापनाको सयवर्ष पुगेको उपलक्ष्यमा संयुक्त मजदुर समन्व्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागि हुनका लागि नेपाल आएका राइडरले सामुहिक सौदावाजी र हडताल मजदुरहरुको अधिकार भएको भन्दै संसदमा विचारधिन श्रम ऐनमा समेटिएको ‘नो वर्क ने पे’ को व्यवस्था प्रति असहति जनाएका हुन् ।
उनले संचारकर्मीहरुसंग भने–‘नेपालको संसदमा विचाराधिन भएको श्रम ऐनका बारेमा धेरै अध्ययन त गरेको छैन, तर सामुहीक सौदावाजी र हडताल गर्न पाउने अधिकार विश्वव्यापी भइसकेको छ ।’
उनले आइएलओका सन्धी राष्ट्रहरुले श्रम कानून बनाउदा अन्तराष्ट्रिय कानूनलाई पनि ख्याल गर्नुपर्ने सुझाव दिए । नेपालमा श्रम सम्बन्धी समस्या समाधानको अहिलेको वाटो उत्तम रहेको भन्दै उनले भने–‘अहिले नेपालमा श्रम सम्बन्धी विवाद श्रमिक, रोजगारदाता र सरकार मिलेर संवादबाट टुंगो लगाउने गरेको सुनेको छु । श्रम कानून बनाउदा पनि यसैगरि समन्वय गर्न आवश्यक छ ।’
उनले नेपालमा रोजगारीका अवसर सृजना हुनका लागि राजनीति स्थिरता भएर लगानीको वातावरण बन्नुपर्ने बताए । नेपालमा वेरोजगारीको समस्या भएका कारण बिदेशीने नेपालीको संख्या बढेको भन्दै उनले नेपाल सरकारले रोजगार नीति बनाएर एक्सनमा लैजानुपर्ने सुझाव दिए ।
उनले नेपालको संसदबाट छिट्टै अन्तराष्ट्रिय मान्यताको श्रम ऐन बन्ने र श्रम ऐनमा श्रमिकका सुविधालाई ख्यालमा राख्दै समाजिक सुरक्षाको बिषयलाई पनि ध्यान दिइनेमा आफु विश्वस्त रहेको धारणा राखे । संयुक्त मजदुर समन्वय समितिमा नेपालका सवै मजदुर संगठनहरु आवद्ध रहेका छ ।