गच्छदार पनि एमालेकै लाइनमा : ‘संशोधन थाती राखेर चुनावमा जाऔँ’
कुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर २९ बुधबार
845
Shares
विराटनगर । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुख्यदलहरुबीच सहमती नजुटे संविधान संशोधनको कार्यलाई हालको अवस्थामा थाती राखेर चुवानमा जानु पर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले, संविधान संशोधनको विषयमा दलबीच मतभेद बढ्दै गएकाले सहमती नभए संविधान संशोधनलाई थाती राख्दै तीनै तहको निर्वाचनमा जादा उपयुक्त हुने बताए ।
अध्यक्ष गच्छदारले संविधान संशोधन गर्ने विषयमा प्रमुख प्रतिपक्ष एमाले र सत्ता पक्ष नेपाली काँग्रेस र माओवादी केन्द्रबीच राजनितिक द्वन्द्व बढेको बताए । संविधान कार्यान्वयका लागि पनि निर्वाचन आवश्यक भएकाले मुख्य तीन दलले सहमति कायम गरेर निर्वाचनको वातावरण बनाउनु पर्ने गच्छदारको भनाई छ ।
संविधान संशोधनका विषयमा मुख्य दलबीच द्वन्द्व शुरु भएको भन्दै अध्यक्ष गच्छदारले अहिलेको जारी द्वन्द्वलाई समयमै व्यवस्थापन गर्न नसके संविधान धरापमा पर्ने र प्राप्त उपलब्धि गुमने खतरा रहेको बताए ।
अध्यक्ष गच्छदारले अहिलेको अवस्थामा पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचनमा जानु पर्ने बताए । नयाँ संरचनाका विषयमा टुंगो लागी नसकेकाले पुरानै संरचानमा गएर भएपनि स्थानीय निकायको निर्वाचन गराउनु पर्ने उनको भनाई छ ।
प्रमुख प्रतिपक्ष एमालेलाई बाहिर राखेर संविधान संशोधन कुनै पनि हालतमा गर्न नमिल्ने समेत बताए । अध्यक्ष गच्छदारले दलहरुबीच अहिले एकताको खाचो रहेकाले मिलेर जानुको विकल्प नरहेको उल्लेख गरे ।