arrow
ADVERTISEMENT

बीपी जन्मजयन्ती

आदर्श राजनीतिमा आएको ह्रासले जनताका काम नभएको राष्ट्रपति पौडेलको जिकिर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
ramchandra-bp-program-(12).jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताएका छन् । 

बीपी ट्रस्टद्वारा सोमबार १११ औँ बीपी जन्मजयन्तीका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने– ‘ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हासिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ । सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ ।’ 

उनले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको भन्दै कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताए । 

उनले सिद्धान्तमा सम्झौता गरेको भए बीपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै बीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे । 

उनले भने–‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बीपीका विशेषता हुन् जुन हाम्रा लागि सँधै प्रेरणाका रुपमा रहिरहनेछ ।’ 

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बीपीले अघि सारेको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे । 

उनले भने, ‘उत्पादनमा बृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरण र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको सिद्धान्तको माध्यमबाटै १५ वर्षभित्रै सबै नेपाली परिवारलाई मध्यम वर्गीय हैसियतको बनाउन सकिने बीपीको व्यवहारिक र स्पष्ट ठोस दृष्टिकोण थियो । बीपीको त्यो दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने मलाई लाग्दछ ।’ 

उनले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बीपीको  दृढ मान्यता रहेको स्मरण गर्दै भने–‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई विभिन्न कालखण्डको आवश्यकताअनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ ।’ 

कार्यक्रममा 'जननायक बीपी कोइराला स्मृति ट्रस्ट (बीपी ट्रस्ट) द्वारा हरेक वर्ष प्रदान गरी साहित्य साधनामा आफ्नो जीवन अर्पण गरेका साहित्यकार कवि द्वारिका श्रेष्ठलाई एक लाख एक हजार राशीको र बीपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई एकाउन्न हजार राशी प्रदान गरिएको थियो ।

ramchandra-bp-program (1).jpg
ramchandra-bp-program (2).jpg
ramchandra-bp-program (3).jpg
ramchandra-bp-program (4).jpg
ramchandra-bp-program (5).jpg
ramchandra-bp-program (6).jpg
ramchandra-bp-program (7).jpg
ramchandra-bp-program (8).jpg
ramchandra-bp-program (9).jpg
ramchandra-bp-program (10).jpg
ramchandra-bp-program (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ