- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताएका हुन् ।
उनले भने, “घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ ।”
महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए । निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेकामा उनले जोड दिए । “अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ”, महामन्त्री थापाको भनाइ थियो ।
उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेकोसमेत बताए । अब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
पार्टीका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्गठनलाई एकताबद्ध बनाएर पार्टी आफ्ना विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताए । उनले भने, “सरकारमा रहेका साथीहरूले पार्टीसँगको परामर्शमा मन्त्रालयबाट काम गर्ने र बाहिर रहेका साथीले खबरदारी जारी राख्नुपर्ने छ । यसले राम्रो काम गर्नका लागि सधैँ उत्प्रेरित गर्छ, पार्टीको साख बढ्छ र यसो गरेमा मात्र बिपीको सच्चा कार्यकर्ता बन्न सकिन्छ ।” मन्त्री पौडेलले पार्टी महामन्त्री थापा स्वास्थ्यमन्त्री हुँदा अगाडि सारेका योजनालाई कार्यान्वयनमा लैजान आफूले भूमिका खेल्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वपार्टी सभापतिद्वय विकास कोइराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।
पार्टीका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा एक सय ७४ जना नेताहरुलाई सम्मान गरिएको थियो । उनीहरूलाई मरणोप्रान्त, विशिष्ट र विशेष सम्मान प्रदान गरिएको हो ।