arrow

संविधान कार्यान्वयन नभए देशमा जे पनि हुन सक्छ : सभापति देउवा

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
sher-bahadur-deuba.jpg.jpeg
चितवन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताएका छन् । 
 
नेपाल महिला सङ्घ केन्द्रीय समितिले बुधबार आयोजना गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै देउवाले यसबारेमा आफूले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताए । 
 
सभापति देउवाले विसं. २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीचमा सहमति गरेर अगाडि जानुपर्ने बताए । उनले भने  'संविधानले पूर्णता नपाए देश दुर्घटनातर्फ जानसक्छ । गणतन्त्र कसैले खोस्न सक्छ । ठूलो पार्टी भएकाले संविधान निर्माणको नेतृत्व गरेको काँग्रेसले अहिलेको निकास फुकाउने काम गर्नुपर्छ ।' 
 
राणा, पञ्चायत र राजा फ्याँकेर लोकतन्त्र र गणतन्त्र स्थापनामा काँग्रेसको नेतृत्वदायी भूमिका भएको भन्दै  देउवाले भने “संविधानको निर्माणमा काँग्रेसले नेतृत्वदायी भूमिका मात्रै होइन, कार्यान्वयनमा पनि गराएरै छाड्छ ।” 
 
सभापति देउवाले भने  “स्थानीय निकायको चुनाव हुन्छ, हुन्छ, हुन्छ ।”संविधान संशोधन प्रस्तावमार्फत् चित्त नबुझेकाको माग पूरा गरेर संविधान कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रस्ताव लगिएको उनले बताए । संसद्मा प्रस्ताव लगे पास हुने डरले एमालेले संसद् चल्न नदिएको उनको आरोप छ । 
 
उनले संसद्मा प्रस्ताव असफल बनाएर देखाउन एमालेलाई चुनौती दिए । देउवाले भने “कुनै पनि हालतमा संसद् खोल्नुपर्छ, नखोले यसको सबै जिम्मेवारी एमालेको टाउकोमा आउँछ । यसको पूर्ण जिम्मेवार एमाले हुनुपर्छ ।” 
 
सीमा जोगाउने काममा मधेसी जनताको ठूलो भूमिका रहेको भन्दै उनले नेपाली भूमिका माया उनीहरुलाई झन् बढिरहेको बताए । उनले भने “सुस्तामा अधिकांश मधेसी छन्, त्यहाँका सीमा रक्षा गर्न उनीहरु लडिरहेका छन् ।” 
 
विश्वमा नै महिलाले नपाएको अधिकार नेपालमा पाएको भन्दै देउवाले नेतृत्व गर्नसक्ने गरी नेतृत्व विकास गर्न आग्रह गरे। उनले भने “स्थानीय तहदेखि माथिल्लो तहसम्म महिलाले नेतृत्व गर्नुपर्छ, तपाईहरु तयार हुनुहोस् ।” आउँदो निर्वाचनमा काँग्रेसले जित्नुपर्ने भन्दै उनले ४० प्रतिशत आरक्ष कोटासमेत रहेकाले नेतृत्वका लागि तयार रहन महिला कार्यकर्तालाई आग्रह गरे। 
 
तिनै तहको निर्वाचनमा काँग्रेसले जिते मात्रै नेपालको प्रजातन्त्र कसैले खोस्न नसक्ने भन्दै देउवाले भने  “काँग्रेसले जित्नुपर्छ, पर्छ, पर्छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ