काठमाडौँ । सभामुख ओनसरी घर्तीको अध्यक्षतामा आज बसेको व्यवस्थापिका– संसद्को बैठकले कार्यव्यवस्था परामर्श समिति सदस्यको नाममा हेरफेर गरेको छ । झन्डै ३८ मिनेट ढिला गरी सुरु भएको आजको बैठकले चित्रबहादुर केसी उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्रीमा र गिरीराजमणि पोखरेल शिक्षामन्त्रीमा नियुक्त भएपछि कार्यव्यवस्था परामर्श समितिको सदस्यमा हेरफेर गरेको हो ।
उपप्रधानमन्त्री मन्त्री केसी जनमोर्चा नेपालका र मन्त्री पोखरेल एनेकपा (एमाओवादी) कोटाबाट मन्त्री हुनुभएको थियो । उहाँहरु मन्त्रीमा बहाली भएका कारण रिक्त हुन गएको स्थानमा कार्यव्यवस्था परामर्श समितिमा आजको बैठकले जनमोर्चाका सांसद दुर्गा पौडेल र एमाओवादीका सांसद हितराज पाण्डेको नाम सिफारीस गरेको छ ।
बैठकले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव गर्नुभएको थियो । सो समितिको प्रतिवेदन तयार पार्न संसद्ले १५ दिनको म्याद थप गरी सर्वसमितिले स्वीकृत गरेको छ । संसद्को अर्को बैठक आगामी बुधबार ८ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।