पुरानै संरचनामा चुनाव गराउन खोजिए प्रदेश १ बाटै विद्रोह हुन्छ
कुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
1.2k
Shares
विराटनगर । सत्ताधारी माओवादी केन्द्रको प्रदेश १ का इन्चार्ज गोपाल किराँतीले पुरानै संरचनामा स्थानिय तहको निर्वाचन गरिए बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र अहिलेको अवस्थामा पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्न सहमत भएको अवस्थामा माओवादी केन्द्रका प्रभावशाली नेता किराँतीले विराटनगरमा पत्रकार सम्मेलनगरी धारणा सार्वजनिक गरेका हुन् ।
नेता किराँतीले नेपाली काँग्रेस,नेकपा एमाले,राप्रपा र मधेस केन्द्रित दलहरु राजतन्त्रकालीन पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्न उद्यत छन् । यसलाई कुनैपनी हालतमा स्वीकार गर्न सकिँदैन–भने ।
उनले यदी पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गरिएको खण्डमा माओवादी केन्द्रको प्रदेश १ का नेता कार्यकर्ता लगायत कोही पनि निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका छन् ।
जनताको रगत र पसिनाबाट प्राप्त गणतन्त्र लगायत सबै उपलब्धि गुमाउने षड्यन्त्र अनुसार पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउन खोजिएको बताउँदै किराँतीले भने, ‘यसलाई जनताले स्वीकार गर्दैनन् । मुलुक संघीयतमा गइसकेकाले नयाँ संरचना कायम गरेर स्थानीय निकायको निर्वाचन गराउनु पर्छ ।’
उनले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै पुरानै संरचनामा निर्वाचन गराउनु भनेको लोकतन्त्र विरोधीहरुलाई विजयी गराउने काम भएकाले यस्तो गल्ती नर्गन दलहरुलाई आग्रह समेत गरे । किराँतीले पुरानै संरचनामा गरिने निर्वाचनमा गए २००७ सालको प्रजातन्त्रलाई २०१७ सालमा खोसेजस्तै हुने जिकिर समेत गरे ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयबाट केही दिन अघि राजीनामा दिएका किराँतीले मधेसी मोर्चा समेत पुरानै संरचनाको चुनावमा लचक हुनु आश्चर्यजनक रहेको भन्दै त्यसबाट प्रतिगमनकारी शक्तिलाई फाइदा पुग्ने बताए । उनले भने, ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई षड्यन्त्रको वाहक नबन्न म खबरदारी गर्छु ।’
सरकार र पार्टीले आम कार्यकर्ता र जनताको कुरा नसुन्ने हो भने आफुहरु विद्रोह गर्न पनि तयार रहेको किराँतीको भनाई छ ।