प्रचण्डको ‘कलव्याक’ : संशोधन विधेयक संसदको कार्यसूचीमा पो राख्दै छु त !
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
1.9k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक अब बस्ने संसद बैठकको कार्यसूचीमा राख्ने तयारी भइसकेको बताएका छन् ।
विहिबार संयुक्त लोकतान्त्रिम मधेसी मोर्चाको एक घटक सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरेर प्रधानमन्त्री दाहालले अबको बैठकमा संशोधन विधेयक संसदको कार्यसूचीमा राख्ने बताएका हुन् । विधेयक दर्तापछि लगातार अवरुद्ध भएको संसदको बैठक आउँदो सोमबार मात्रै बस्ने भएको छ ।
सद्भावना अध्यक्ष महतोले हाम्राकुरासँग भने, ‘संविधान संशोधन थाती राख्ने भनेर मिडियामा निकै कुरा आएपछि मैले प्रधानमन्त्रीसँग जान्न खोजेको थिएँ । पहिले मैले फोन गरे । पछि उहाँले कलब्याक गर्नु भयो ।’ महतोले अगाडि भने, ‘मैले मिडियामा आएको कुरा र नेताहरुले बोलेका कुरा के हुन् ? त्यस्तै गरिरहेको सरकारले भनेर सोधे ? उहाँले हैन त्यसो होइन म त संशोधन विधेयक संसदको कार्यसूचीमा पो राख्दै छु त ! भन्नु भयो ।’
तपाईहरु शंका नगर्नुस् अबको संसद बैठकको कार्यसूची संशोधन विधेयक नै हुन्छ प्रधानमन्त्रीले टेलिफोनमा भनेको भनाई अध्यक्ष महतोले सुनाए । स्थानीय निकायको निर्वाचन चर्चाका विषयमा भने कुरा नभएको अध्यक्ष महतो जानकारी दिए ।
प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले भने यसबारे आफुहरुलाई जानकारी नदिइएको बताए । मधेसी मोर्चाका नेताहरुले तीन दल पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न सहमत भएको भन्ने खबर सुनेपछि अत्तालिएका छन् ।
उनीहरुले वुधबार मात्रै अनौपचारिक छलफल गरेका थिए । आफुहरुको पहिलो मुद्दा संविधान संशोधन भएको र संविधान संशोधन नभइ निर्वाचनबारे सोच्नै नसकिने अध्यक्ष महतोले बताए । प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सरकारको चरित्रबारे सोध्ने तयारी समेत मोर्चाका नेताहरुले गरेका छन् ।