arrow

जनसरोकारका समाचारलाई प्राथमिकता दिन सञ्चारमन्त्रीको आग्रह

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Ram-Karki-minister.jpeg
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी सञ्चारमाध्यमले सनसनीपूर्ण समाचारको पछि लाग्नुभन्दा सरकारका योजना र प्राथमिकतालाई जनता सामुन्ने लगेर सघाउनुपर्ने विचार व्यक्त गरे । 
 
सरकारी सञ्चारमाध्यमका कार्यकारी प्रमुख तथा समाचार प्रमुखलाई बिहिबार सूचना तथा सञ्चार मन्त्रालयमा निर्देशन दिँदै सञ्चारमन्त्री कार्कीले निजी क्षेत्रले नसमेटेका र चर्चामा नआएका कृषि, ग्रामीण महिलाका कष्ट, निरक्षरता जस्ता जनसरोकारका विषयलाई समाचारमा प्राथमिकता दिन सुझाव दिए । 
 
ट्रेड युनियन अभियानमा लाग्ने कर्मचारीलाई सरकार कसको हो भन्नेमा धेरै मतलब नराख्न आग्रह गर्दै उनले भने  – “नेता नै कर्तव्यबाट विमुख बने भने कर्मचारीले लागेर मात्रै राजनीतिक दल वा कम्युनिस्ट आन्दोलन जोगिँदैन ।” 
 
अस्थिर राजनीति र मजदुर विवादले विकासको गति अवरुद्ध हुने बताउँदै सञ्चारमन्त्रीले लगानीमैत्री वातावरण सिर्जना गर्न सकेका कारण भारतको गुजरात राज्यले पश्चिम बङ्गाललाई उछिनेको र चीन आर्थिक रुपले सबल अर्थतन्त्रका रुपमा विश्वमाझ उदाएको उदाहरण दिए । 
 
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले भने  – “सम्पूर्ण कुराको जिम्मेवारी निजी क्षेत्रको हातमा सुम्पन सकिँदैन, किनभने राज्यसँग पर्याप्त अनुगमन संयन्त्र छैन, मुलुकमा विभाजनकारी काम मात्र धेरै भयो । साझा चासोका विषयलाई उठाएर सबैलाई एकै ठाउँमा ल्याऔँ । सबै सञ्चारमाध्यमले यो दायित्व बुझिदेऔँ ।” 
 
सरकारले समस्याग्रस्त निकायलाई भौतिक सुविधा उपलब्ध गराएर भए पनि आफ्नो कल्याणकारी भूमिका निर्वाह गर्ने वचनबद्धता सञ्चारमन्त्रीले प्रकट गरे। आआफ्ना संस्थामा भएका नीतिगत अप्ठेरा र समस्यालाई अगाडि ल्याइदिए त्यसको समाधानमा पहलकदमी लिने वचन उनले दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ