काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पैसाको खेलमा नचाहिएका साधन किन्ने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनीको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले बजारमा आएका अत्याधुनिक नयाँ प्रविधिको बारेमा प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताए । थापाले स्वास्थ्यमा सबैभन्दा बढी प्रविधि र उपकरण खरिद गर्दा धेरै पैसाको खेल हुने गरेको देखिएकाले कतिपय नचाहिएका साधन खरिद गर्ने, चाहिएका साधन भने खरिद नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
बुहिबारदेखि भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनिको ‘केमिकल एन्ड मेडिकल सप्लायर्स’ नेपाल र नेपाल केमिकल सोसाइटीले भारतको एसडी प्रोमो मिडिया प्रालिसँग मिलेर आयोजना गरेका हुन् ।
पुस दुई गतेसम्म चल्ने सो प्रदर्शनीमा अन्तर्राष्ट्रिय बजारमा आएका स्वास्थ्यका अत्याधुनिक उपकरण, शल्यचिकित्सका सामग्री, उद्दार र आपतकालीन सामग्री, मेडिकल डिस्पोजेवल, अस्पतालका लागि फर्निचर, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापनलगायत एक सय ७० कक्ष राखिएको छ ।
केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालका अध्यक्ष भक्त हमालले अस्पताल, प्याथोलोजी, ल्याब, अध्ययन संस्थान, मेडिकल तथा खाद्य उद्योग, विश्वविद्यालय, वस्तु परीक्षण प्रयोगशाला, व्यापार आपूर्तिकर्ताले प्रदर्शनी अवलोकलन गर्ने बताए ।
एसडी प्रोमो मिडिया प्रालि भारतका प्रमुख विवेक विक्रमले डेढ वर्षअघि नै प्रदर्शनी गर्ने योजना बनाएको भए पनि नेपालमा गएको विनाशकारी भूकम्पका कारण ढिलाइ भएको बताए । प्रदर्शनीमा प्रयोग, विश्लेषण, वैज्ञानिक र बायोटेक्नोलोजी सम्बन्धी सामग्री र उपभोग्य बस्तु राखिएका छन् ।