चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ०७४ साल माघ ७ भित्र तीन वटै निकायको चुनाव गर्नुपर्ने भएकाले चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । चितवनमा नेपाल पे्रस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले संवैधानिक संकटबाट मुक्ति पाउनका लागि पनि अब स्थानीय निकायको चुनावमा जानुको विकल्प नभएको बताएका छन् ।
उनले संविधान संशोधनको प्रक्रिया पनि चल्दै जाने र चुनाव पनि गर्नुपर्नेमा जोड दिएका छन् । तर तत्काल चुनावमा लागेर बिस्तारै संशोधनमा गए फरक नपर्ने देउवाको तर्क छ ।
समस्या समाधान गर्नका लागि निर्वाचन नै उत्तम विकल्प भएको देउवाको भनाइ छ । मधेसीवादी दलहरुले यही संशोधन पनि अपूरो भएको बताइरहँदा सभापति देउवाले के अर्थमा यसलाई अपूरो भन्ने भन्ने प्रतिप्रश्न गरे ।
एमालेले संसदीय चुनाव पहिले गरौं गरेको छ नि भन्ने प्रश्नमा देउवाले त्यो हुनै नसक्ने कुरा भएको बताए ।
पश्चिमको आन्दोलनप्रति विचार राख्दै देउवाले सबै दल मिल्नैपर्ने भन्दै पश्चिममा पाँच वटा जिल्लालाई अलग गर्ने भनेर पहिले नै सहमति भएको र त्यसमा एमाले पछाडि हट्नु भएन भने ।