arrow

सुधार्दै कूटनीतिक सम्बन्ध

दक्षिण कोरियालाई  नेपालमा थप लगानीका लागि परराष्ट्र मन्त्री राणाको आग्रह 

दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
arzu-korea-phili[[ines.jpg
तस्बिर – दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीहरुसँग परराष्ट्र मन्त्री राणा।

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेकी परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेकी छिन् । 

यसै क्रममा मङ्गलबार उनले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिन् । मङ्गलबार उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गरेकी द्विपक्षीय भेटवार्तामा दुई देश मित्रता, पारस्पारिक सम्मान र समझ्दारीमा आधारित सम्बन्धका साथ अघि बढेका र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको थियो । त्यस भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको हो ।

त्यसैगरी उनीहरुबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

परराष्ट्रमन्त्री डा राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वर्षका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत् कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरिन् ।

भेटका क्रममा पछिल्लो समय ईपीएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरुलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री डा राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिन् । 

साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिक लगायतका क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि मन्त्री डा राणाले सराहना गरेकी थिइन् ।

मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गरेकी थिइन् । नेपालमा प्रत्यक्ष लगानी गर्ने विदेशी राष्ट्रमध्ये दक्षिण कोरिया एक प्रमुख राष्ट्र हो । अघिल्लो आर्थिक वर्षमा मात्र नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो । 

त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषद् लगायतमा उम्मेदवारी दिएकाले कोरियाको सहयोगका लागि आग्रह गरेकी थिइन् ।       

त्यसैगरी मन्त्री डा राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो ।  

साथै सो भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद् लगायतमा उम्मेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि आग्रह गरेकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ