arrow

ग्रामीण सडकको धमाधम स्तरोन्नति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
parbat-map-new.jpeg

पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो ।
 

मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताए । केही सङ्घीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् ।

कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन् । तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताए ।

गत आवमा ठेक्का प्रक्रियामा गएका पैँयुको छत्तिसेघाट मोटरेबल पुल, कुश्मा-१० र फलेवास-३ जोड्ने मल्याङ्दी खोला पुल, जलजलाको मिलनचोक-सल्यान-घाहाखेत धारापानी-ठोटनेरी सडकका लागि पनि स्रोत सुनिश्चित भई नियमित काम हुने भएको छ ।

यसैगरी कुश्मा-२ को हिमालय मावि-पाङ-नुहार-खनियाघाट सडक, खुर्कोट-पाङ-नालिवाङ-धाइरिङ-मल्लाज बेनी सडक, मोदी गाउँपालिकाको रतिखोलाबाट दराक-चित्रे-गगटे-राम्जा सडकको पनि स्रोत सुनिश्चित भएको छ ।

फलेवास नगरपालिकाको खुमबाट भँगरा-बेतेनी-सल्यानधारा-घन्तरी-लुङ्खु सडकको स्तरोन्नति, पैँयु र महाशिलाको बेउलीबास-पूर्णगाउँ-पैँयुकोट-लुड्खु सडकका लागि तीन करोड १० लाखको लागतमा स्तरोन्नति सुरु भएको छ । उक्त योजनाको गत साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गरेको थियो ।

यसैगरी जलजलाको मिलनचोक-रातमाटा-भोटेडाँडा-शालिजा सडक स्तरोन्नति, जलजलाकै किराखोर-घाखेत-धारापानी-कलैचे सडक, फलेवास नगरपालिकाअन्तर्गतको हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमुनीघाट सडकका लागि पनि आठ करोडको योजना क्रमागत रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

कुश्मा नगरपालिकाअन्तर्गत दोबिल्ला-सिल्मी-ठूलीपोखरी-खौला-कार्कीनेटा र धरादी-काउँडाँडा-सौर्यकोट-हातेमालोचोक सडकका लागि पनि स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अर्यालले बताए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले चालु आवमा सालवसाली र बहुुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिए ।

उनले प्राविधिक कर्मचारीको अभाव, बहुवर्षीय योजनामा पर्याप्त बजेटको कमीलगायत समस्या रहेको जानकारी दिए ।

आव २०८०/८१ मा जिल्लामा २३ किलोमिटर सडक कालोपत्र गरिएको छभने १७ किलोमिटर लामो पानी निकासको नाली, चार किलोमिटर सडक ग्राभेल र १३ किलोमिटर कच्ची सडक विस्तार गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ