arrow

संसारभरिका नागरिकलाई पोखरामा आकर्षित गर्न सकिन्छ : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
surendraraj-panday-lcci.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी पोखरालाई संसारभरिका नागरिकलाई आकर्षित गर्ने थलोका रूपमा विकास गर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।

सीमित स्रोत साधनबीच पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको भन्दै मुख्यमन्त्रीले पोखरा आउने पर्यटकका लागि सडक र हवाई मार्ग सहज बनाउनुका साथै उनीहरू स्वतन्त्र रूपमा घुम्न पाउने वातावरण सरकार र पर्यटन व्यवसायीले बनाउनुपर्नेमा जोड दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न आफैँले विभिन्न देशका प्रतिनिधि र एयरलाइन्स कम्पनीसँग छलफल गरिरहेको मुख्यमन्त्रीले बताए ।

सडकका कारण पर्यटकीय पदमार्ग लोप हुँदै गएको उल्लेख गर्दै मुख्यमन्त्रीले नयाँ पदमार्गको विकास, साहसिक खेलकुदको विकास र ताल, हिमाल र विभिन्न स्थानीय संस्कृतिको माध्यमबाट पर्यटक भित्र्याउन सकिने स्पष्ट पारे ।

पर्यटन विकास भनेको विदेशी पर्यटकमात्र नभई आन्तरिक पर्यटक पनि महत्वपूर्ण हुने भन्दै उनले पहिला घरदेश र अनिमात्र परदेशको योजना लिएर अघि बढाउन सुझाव दिए ।

पूर्वमुख्यमन्त्री खगराज अधिकारीले भारत र चीनबाट पर्यटक तान्न सकेमात्रै पनि पोखरामा लाखाैँ पर्यटक भित्रिने जिकिर गरे । उनले निर्माणाधीन राजमार्ग सम्पन्न भएपछि पोखरामा पर्यटकको आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारको सफलतामा उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका हुने भन्दै सरकारको सफलतामा सबै प्रदेशवासीको सफलता हुने बताए ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पर्यटकीय सम्भावना तथा विकास सम्वन्धमा पर्यटनविज्ञ श्रीकान्त शर्मा खतिवडाले अन्तर्राष्ट्रिय हवाई कम्पनीले यात्रु अभावमा पोखरामा उडान सञ्चालन गर्न अहिलेसम्म आनाकानी गरिरहेको दावी गरे । उनले सरकारले आर्थिक क्षेत्रमा केही सहज हुनेगरी प्याकेज दिएकाले भविष्यमा उडान सञ्चालन गर्न सक्ने सम्भावना देखिएको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव जानुका अधिकारीले सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

पर्यटन प्रवर्द्धनमा सम्पूर्ण प्रदेशवासी लाग्नुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका २४ उद्योग वाणिज्य संघका अध्यक्षसहित प्रतिनिधि सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ