arrow

तीन दिनमा बाढी–पहिरोबाट ६६ जनाको मृत्यु, ७९ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
susta-duban-81-6-12.jpg

काठमाडौँ । पछिल्लो  तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २,  सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका छन् ।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ। दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ । 

विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।  

राहत तथा उद्धारमा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । 

जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ