arrow

नागरिकलाई हवाई यात्रामा सास्ती नहोस्ः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
surendra-raj-pandey.jpg
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडबाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीलाई निर्देशन दिएका छन् ।

पोखराबाट काठमाडाैँको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्रीले पोखराबाट सेवा सञ्चालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् ।

‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन्,  यस्तो समयमा सेवा सरल, सहज र सहुलीयत बनाउनुपर्छ’,  मुख्यमन्त्रीले भने, ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होइन ।’

पोखरासहित गण्डकी प्रदेशको विभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पुर्याउँदा यातायात आउजाउ सहज छैन ।

पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा पोखरा-काठमाडौँ हवाई यात्रामा चाप बढेको छ । यात्रुको गुनासो बढेको भन्दै मुख्यमन्त्रीले एअरलाइन्स कम्पनीलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न सुझाव दिए ।

‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरुँला’, मुख्यमन्त्रीले भने, ‘तपाइँले यहाँबाट आफूले सक्ने सहजीकरण गर्नुहोस् ।’

अहिले पोखरा-काठमाडौँ भाडा पाँच हजार नौ सयसम्म छ । यसअघि चार हजार चार सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्रीले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजीकरण गर्न सुझाव दिए । ‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’, मुख्यमन्त्रीले भने ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज लामो समय होल्ड गरी राति ११ः३० बजे पुन: काठमाडौँ फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एअरलाईन्सलाई सचेत गराएका थिए ।

विपद् र चाडपर्वका बेला फ्लाइट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको बताउँदै उनले फ्लाईट घटाएर टिकट नबढाउन निर्देशन दिए ।

विपद्को समयमा सेवा दिँदै आएका कम्पनीलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलीयतका लागि पनि ध्यान दिइनुपर्ने बताए ।

एरलाईन्स कम्पनीले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यस बारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध, श्री एरलाईन्सले सेवा दिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ