arrow

देखिन छाडे परम्परागत ढुङ्गाका घर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
barpak-gorkha.jpg

गोरखा । प्राकृतिक सौन्दर्यता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरूपका घर जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो ।

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरूपका ढुङ्गाले उठाइएका हुन्थे । बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ ।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् । ढुङ्गाले बनेका घर भूकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा पर्‍यो ।

उनीहरूले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए । परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउँछन् ।

‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो । पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन’’, उनी भन्छन् ।

अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ । ‘‘भौगोलिक बनावटअनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने रहने छ भन्ने लाग्छ । आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको अनुभूति छ,’’ घलेले भने ।

भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनुपर्ने थिएन की भन्ने लाग्छ । अर्का स्थानीयवासी सुकबहादुर गुरुङ भन्छन्, ‘‘भूकम्पका बेला अहिले जस्तो पक्की घर भए धेरैको ज्यान बच्ने थियो कि । मौलिकताभन्दा सुरक्षित हुने घर नै राम्रो होला ।’’

भूकम्पपछि बारपाकमा निजी घर पुनः निर्माण सकिएको छ । छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन् । थोरैले बनाए पनि ढुङ्गाको छानोको सट्टा टिनको छानो राखेका छन् । भूकम्पले बारपाकको मौलिकता र चिनारी खोसेको छ ।

पुरानो शैलीका घरमा अगाडि र पछाडि दुवैतर्फ आँगन थिए । भुइँ तल्लाको बीच भागमा अँगेना हुन्थे । अहिले बनेका सिमेन्टका घरमा चुल्हो कहाँ राख्ने भन्ने नै निश्चित छैन । परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा बारपाकलाई पुरानै शैलीमा पुनः निर्माण गर्न नसकिएको केही स्थानीयको मत छ ।

पुनः निर्माणका क्रममा मौलिकता जोगाउने ठोस योजना नबन्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिका-१, का वडाध्यक्ष धनबहादुर घले बताउछन् । ‘‘बाउबाजेले स्थापना गरेको पुरानो डिजाइनको घर जोगाउन सकेनौँ । भूकम्पपछि परिवर्तनसँगै चल्नुपर्छ भन्ने धेरैको कुरा भयो । कतिपयले पुराना चिनारी जोगाउनुपर्छ नभनेका होइनन् तर पुनः निर्माण गर्दा मौलिक चिनारी बचाउन सकिएन’’, उनले भने ।

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) सँगको समन्वयमा बारपाकलाई पुरानै शैलीमा फर्काउन प्रयास गरिएपनि सफल हुन सकेन । वडाध्यक्ष घले भन्छन्, ‘‘बारपाकमा पुराना डिजाइनका घर कहीँ छैन । अब बारपाक परम्परागत बारपाक रहेन । अब सार्वजनिक ठाउँमा संरचना निर्माण गर्दा पुरानै मोडलमा निर्माण गर्ने योजना छ ।’’

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले ढुङ्गाको पुराना घर नबने पनि बारपाकको सुन्दरता नहराएको बताए । ‘‘बारपाकले नयाँ स्वरूप र सुन्दरता पाएको छ, पुराना शैलीका घर नबने पनि पुनः निर्माणले यहाँको सौन्र्दयता बढाएको छ । थुप्रै पर्यटकीय आकर्षणले साँच्चै बारपाक सिँगारिएको छ’’, उनले भने ।

बारपाक लाहुरेको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ ।

बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ