arrow

चिकित्सक हत्याको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
indian-doctor-strike.jpg

काठमाडौँ । भारतीय प्रहरीले सोमबार एक व्यक्तिमाथि ३१ वर्षीया चिकित्सकको बलात्कार र हत्याको आरोप लगाएको छ । उक्त अपराधले मुलुकलाई स्तब्ध पारेको थियो र व्यापक विरोध प्रदर्शन निम्त्याएको थियो । 

गत अगस्ट ९ मा पूर्वी सहर कोलकाताको एक सरकरी अस्पतालमा ती चिकित्सकको रगतले लतपतिएको शव फेला परेको घटनाले महिलाविरुद्धको हिंसाको दीर्घकालीन समस्यालाई लिएर राष्ट्रव्यापी आक्रोश बढेको थियो । 

हत्याको भोलिपल्ट पक्राउ परी त्यसयता हिरासतमा रहेका सञ्जय रोय नामक आरोपीलाई सोमबार औपचारिक रूपमा अभियोग लगाइएको छ र अदालतमा प्रमाणको गोप्य कागजात पेश गरिएको छ । 

“सञ्जय रोयमाथि अस्पतालभित्र ड्युटीमा रहेकी प्रशिक्षार्थी स्नातकोत्तर चिकित्सकको बलात्कार र हत्याको आरोप लगाइएको छ”, केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का एक अधिकारीले एएफपीलाई बताए । 

भारतीय सञ्चारमाध्यमहरूले बिरामीहरूको सहयोगका लागि अस्पतालमा स्वयंसेवकको रूपमा काम गरिरहेका ३३ वर्षीय रोयले दोषी ठहर भएमा मृत्युदण्डको सजाय पाउनसक्ने बताएका छन् । 

उक्त क्रुर आक्रमणको प्रतिक्रियामा कोलकाताका चिकित्सकहरूले हप्तौँसम्म हडताल गरे । दशौँ हजार सर्वसाधारण भारतीयहरू विरोध प्रदर्शनमा सहभागी भए । उनीहरूको आक्रोश महिला चिकित्सकहरूलाई निर्भय भएर काम गर्न दिने उपायहरूको अभावप्रति केन्द्रीत थियो । 

अधिकांश चिकित्सकहरू काममा फर्किए पनि एउटा सानो समूहले यस महिना भोक हडताल सुरु गरेको छ । चिकित्सकहरूले पश्चिम बङ्गाल राज्य सरकारले बत्ती, सुरक्षा क्यामेरा र उनीहरूको सुरक्षाका लागि अन्य उपायहरू सुधार गर्ने आफ्नो प्रतिज्ञा पूरा नगरेको बताएका छन् । 

भारतको सर्वोच्च अदालतले हत्याको क्रुरताले ‘राष्ट्रको अन्तरात्मालाई झस्काएको’ भन्दै गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ बनाउने भन्नेबारे जाँच गर्न राष्ट्रिय कार्यदल गठन गर्न आदेश दिएको थियो ।

कोलकातामा भएको आक्रमणको भयावह प्रकृतिलाई सन् २०१२ मा दिल्लीको एउटा बसमा एक युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरिएको थियो । दिल्लीमा भएको उक्त घटनापछि हप्तौँसम्म राष्ट्रव्यापी विरोध प्रदर्शन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ