arrow

मोदीको दृढता – विश्वलाई भारतमै बनेको फोन उपलब्ध गराउने लक्ष्य राखेका छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
modi-81-10-15.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वलाई भारतमा बनेको फोन उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित इण्डिया मोबाइल कङ्ग्रेस २०२४ को आठौं संस्करणको उद्घाटन समारोहमा सम्बोधन गर्दै मोदीले भारतलाई स्मार्टफोन उत्पादनको केन्द्रका रूपमा परिचित गराउँदै विश्वले अब देशलाई मोबाइल निर्यातकर्ताको रूपमा हेर्न थालेको बताएका हुन् । 

मोदीले भने, ‘२०१४ मा जम्मा दुई वटा मोबाइल उत्पादन एकाइहरू थिए । तर आज यो संख्या २०० भन्दा बढी पुगेको छ। पहिले हामीले धेरै मोबाइल आयात गर्थ्यौं, तर अहिले हामी देशभित्रै छ गुणा बढी मोबाइल उत्पादन गर्छौं ।”

मोदीले एक दशकअघि डिजिटल–प्रथम भारतको परिकल्पना अघि सारेको र सस्तो मोबाइल फोनको लक्ष्य राखेको सम्झदै भने, ‘यो लक्ष्य तब मात्र हासिल गर्न सकिन्छ जब फोनहरू स्वदेशमै उत्पादन हुन्छन्।’

मोदीको मेक इन इण्डिया अभियान एक दशकदेखि तीव्र रुपले अगाडि बढिरहेको अवस्थामा भारत हाल मोबाइल फोन उत्पादनका लागि उदीयमान स्थानका रूपमा चिनिन थालेको छ। 

यसले चीनसँगको बढ्दो भू–राजनीतिक जोखिमका बीच व्यवसायहरूलाई चीन बाहिर विविधिकरण गर्न भारतले सहयोग गरेको छ । हाल १४ प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ, जसले भारतलाई चीनबाहेक विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनाएको छ । 

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘अब हामी विश्वलाई पूर्णतया मेड इन इण्डिया मोबाइल फोन प्रदान गर्ने लक्ष्यमा छौं। चिपदेखि लिएर अन्तिम उत्पादनसम्म हामी स्वदेशमै बनाउन चाहन्छौं। हामी सेमिकन्डक्टर क्षेत्रमा पनि ठूलो लगानी गर्दैछौं ।

प्रधानमन्त्री मोदीले सन् २०३० सम्ममा इलेक्ट्रोनिक्स क्षेत्रको आय १५५ अर्ब डलरबाट ५०० अर्ब डलर पुर्‍याउने लक्ष्य राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ