arrow

प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
gandaki-cm-surendra-panday.jpg
फाइल तस्बिर

पाेखरा।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा ६९औँ प्रहरी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रहरी समायोजन नहुँदाको यसको असर प्रदेश सरकारको काम कारबाहीमा पनि परेको बताए ।

“गण्डकी प्रदेश सरकारले आफू मातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट विनियोजन गरेको छ”, उनले भने ।

उनले  थपे, “प्रहरीलाई मात्रै यस वर्ष कार्यान्वयन हुने प्रहरी चौकी निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटिभी जडान, घेराबार र चौकीको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।”

सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

गत वर्ष कार्यक्रम ढिला गरी स्वीकृत हुँदा कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यस वर्ष केन्द्रको अर्थ र गृह मन्त्रालयबाट स्वीकृत भई प्रदेशको अर्थ मन्त्रालयले पनि स्वीकृत प्रदान गरिसकेका कारण कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढिसकेको बताए ।

भौतिक पूर्वाधारलगायत योजनामा गत वर्ष प्रहरीका लागि प्रदेश सरकारले १६ करोड विनियोजन गरेको बताउँदै उनले सीमित साधन स्रोत र प्रदेश सरकारको बजेट नै गत वर्षभन्दा घटेकाले यस वर्ष केही कम भएपनि प्राथमिकताका आधारमा प्रहरीको माग अनुसारकै बजेट विनियोजन गर्दै आएको बताए ।

खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्री हस्तान्तरण, तालिम, अभ्यास, सचेतनामूलक कार्यक्रम, लागूऔषध दुर्व्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा सञ्चालन हुँदै आएको बताउँदै उनले यसबाट केही हदसम्म प्रहरीको मनोबल उच्च राख्न र सङ्गठनलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए ।

प्रहरीलाई राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी रहेका कारण सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताए ।

मुख्यमन्त्रीले भने, “प्रहरी कार्यालयमा आफ्ना पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने, पटक-पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्ति दिने, नागरिकसँग शिष्ट व्यवहार गर्ने, आपत्कालीन सहयोग गर्नेजस्ता मानवीय कार्यलाई प्राथमिकता दिँदै अघि बढ्न सकेमा प्रहरीबाट नागरिकमा अझै प्रभावकारी सेवा पुग्ने देखिन्छ ।”

देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपतका समयमा पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिकाको उनले प्रशंसा गरे ।

हरेक विपद्का समयमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएको भन्दै उनले प्रहरी दिवस आम नागरिकको दिवस बन्नसक्ने कामना गरे ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले कर्तव्य परायणता र जिम्मेवारितालाई आत्मसात् गर्दै प्रहरी सङ्गठन देश र जनताको सुरक्षार्थ निरन्तर खटिरहेको बताए ।

जनमुखी, पारदर्शी र नागरिकमैत्री प्रहरी छवि कायम गराउनेमा निरन्तर लागिरहेको प्रहरी सङ्गठन सीमित साधन र स्रोतका बाबजुद पनि क्रियाशील बनिरहेको उनले बताए ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख मुकुन्द मरासिनीले राज्यको कानुन कार्यान्वयन गराउनेमा प्रहरी सङ्गठन निरन्तर लागिरहेको धारणा राखे ।

कार्यक्रममा समाचार सम्प्रेषणमार्फत सहयोग पुर्‍याएवापत सञ्चारकर्मी रघुराज वाग्लेलगायत विभिन्न विधामा उत्कृष्ट प्रहरी कर्मचारी, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रहरी ब्यान्ड प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी दिवसका अवसरमा दिएको सन्देश प्रनामनि दुर्गा सिंहले पढेर सुनाएकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ