arrow

बीपीका जेठा छोरा प्रकाशले दिए चियापान कार्यक्रमलाई निरन्तरता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
bp-prakash.jpg

काठमाडौँ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गरेको चियापान कार्यक्रमलाई उनका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिएका छन् ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब १० वर्ष लामो भारत निर्वासन छाडेर स्वदेश फर्कएका बीपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी सङ्ग्रहालयमा लगिएको थियो । त्यसै वर्ष उपचारका लागि जेलबाट छुटेदेखि बीपीले बडादशैँको कोजाग्रत पूर्णिमाका दिन चियापान सुरु गरेको थियो । बीपीको देहान्तपछि चियापानको यो परम्परालाई कांग्रेसका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले निरन्तरता दिँदै आएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका नेता कोइरालाले कांग्रेस बीपीले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए । आगामी वर्षमा पनि कोजाग्रत पूर्णिमाका अवसरमा बीपीले सुरु गरेको चियापानको परम्परालाई निरतन्तरता दिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा बलिउड नायिका एवं बीपीकी नातिनी मनिषा कोइराला, बीपीकी छोरी चेतना कोइराला, सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्यसचिव अतुल कोइरालालगायत सहभागी थिए । 

सो अवसरमा बीपी पुत्र कोइरालालगायतले सङ्ग्रहालय परिसरमा रहेको बीपीको पूर्णकदको सालिकमा माल्यार्पण गरेको थियो । कार्यक्रममा उपस्थित इच्छुक महानुभावलाई कोइरालाले टीका तथा जमरासहित आशीर्वाद पनि दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ