- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा र डेंगु महामारी फैलिएसँगै पोखरामा रगतको अभाव देखिएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीले आकस्मिक रक्तदान कार्यक्रम आह्वान गरेको छ ।
रेडक्रसले सोमबार पोखराको महेन्द्रपुल र मंगलबार छोरेपाटनमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको थियो । यी दुई कार्यक्रममा २१९ युनिट रगत संकलन भएको छ । महेन्द्रपुलमा १३१ र छोरेपाटनमा ८८ युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार सम्भव भएसम्म सबै उपशाखा र विभिन्न संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ । कास्कीमा हरेक वर्ष ४० हजार युनिट रगत आवश्यक पर्ने सभापति शर्माको भनाइ छ ।
रेडक्रस कास्कीले पोखरा-८ सृजनाचोकमा ६ करोडको लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरेको छ । ती भवनमा रगत प्रशोधन र सुरक्षाका लागि आवश्यक प्रविधिसमेतको व्यवस्थामा जुटेको नेरोसो कास्कीले जनाएको छ ।
छोरेपाटनमा भएको आकस्मिक रक्तदान कार्यक्रममा सोही वडाका वडाअध्यक्ष राधिका शाही योगी, नेरोसो कास्की सभापति पौडेल, उपसभापति एवं विपद् व्यवस्थापन समिति संयोजक उर्मिला खड्का, पोखरा-१७ उपशाखा सभापति हरिप्रसाद श्रेष्ठ, प्रादेशिक रक्तसञ्चार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवालीलगायतले पछिल्लो समय रक्तदानको महत्व बढ्दा नयाँ रक्तदातामा समेत उत्साह थपिएको बताए । उनीहरुले विपद्का समयमा मानवीय सेवामा जुट्न आह्वानसमेत गरे ।