arrow

माओवादीलाई ‘प्रचण्डपन्थी’ भन्न बाबुरामको सुझाव, माओवादीको ३० सिट हो ३२ हैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा प्रचण्डपन्थी भन्नुपर्ने सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि दुर्दशा भएको भन्दै माओवादीलाई प्रचण्डपन्थी भन्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा प्रचण्डपन्थी भन्नु उपयुक्त होला । किनकि माओवादी आन्दोलन केही स्वभाविक कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बनेयताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ । 

त्यसपछि त्यो आन्दोलन (जुन पार्टीमात्र थिएन) लाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीव्र आर्थिक–सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता(स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो ।

अनि केही तथ्यांकका कुरा– प्रचण्डको पार्टीको संसदीय सिट संख्या ३० हो ३२ हैन । २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनाव चिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेकामात्र हुन् । 

साथै गोरखा र सर्लाहीका २–२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेरमात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैँ बुझौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ