arrow

अमेरिकामा राष्ट्रपति निर्वाचनः मंगलबार अपरान्ह ४ः४५ देखि बुधबार ६ बजेसम्म मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
harris-trump.jpg

काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । अमेरिकामा मंगलबार चुनाव हुने हो । नेपाली समयलाई ख्याल गर्दा भने अमेरिकाका अधिकांश क्षेत्रमा मंगलबार अपरान्ह करिब ४ः४५ बजेदेखि मतदान शुरु भई बुधबार बिहान करिब ६ बजेसम्म चल्नेछ ।

यस पटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमलादेवी ह्यारिस रहेकी छिन् । 

ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी छन् ।

निकट प्रतिस्पर्धाका कारण यसै वर्ष हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।

अमेरिकामा हुने केही राष्ट्रपतीय निर्वाचनमा भोटिङको दिन वा भोलिपल्ट बिहान विजेता घोषणा हुने गरेको भए पनि यसपटक कडा प्रतिस्पर्धाका कारण पर्खनु पर्ने हुन सक्छ । पेन्सिल्भेनिया जस्ता केही स्विङ राज्यहरूमा मत गणनामा थोरै भिन्नता आएमा फेरि मतगणना हुने सम्भावना छ ।

यी निर्वाचनका सन्दर्भमा नजिकको नतिजालाई कानूनी रूपमा पनि चुनौती दिने सम्भावना छ । यदि यस्तो भयो भने यसको घोषणा हुन केही दिन लाग्न सक्छ।

सन् २०२० मा अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो तर अमेरिकी टिभी नेटवर्कमा नोभेम्बर ७ मा जो बाइडेनलाई विजयी घोषणा गरिएको थियो ।

त्यतिबेला अहिलेका उम्मेदवार ट्रम्पले हार स्वीकार गर्नै खोजेका थिएनन् । जसका कारण निकै ठूलो तनाव भएको थियो । संसदभित्रैसमेत आक्रमण भएको थियो । 



नयाँ