arrow

के हुन्छ अमेरिकी राष्ट्रपतिको तलबसहित सेवा सुविधा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
kamama-harris-trump.JPG

काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस निर्वाचनमा कमलादेवी ह्यारिस वा डोनाल्ड ट्रम्पमध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्ने भन्नेमा सबैको नजर रहेको छ ।

आज हुने निर्वाचनपछि नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी २०, २०२५ मा चार वर्षे कार्यकालका लागि पदभार ग्रहण गर्नेछन् । अमेरिकामा सुशासनको लगाम कसले लिन्छ भन्ने कुरामा स्वदेश तथा विदेशका जनता उत्सुक छन् । किनभने अमेरिकी राष्ट्रपति आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय र भूराजनीतिक मामिलामा पनि निर्णायक हुन्छन् ।

अमेरिकाका राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्तिमध्ये एक मानिन्छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिले कति तलब पाउँछन् भन्ने प्रश्न धेरैलाई लाग्नु स्वभाविक हो । अमेरिकी राष्ट्रपतिको तलब औसत अमेरिकीको भन्दा ६ गुणा बढी रहेको छ । औसत अमेरिकीले वार्षिक ६३ हजार ७९५ डलर कमाउँछन् ।

अमेरिकाका शीर्ष धनीहरूले वार्षिक औसत ७ लाख ८८ हजार डलर कमाउँछन् तर अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा हो । अमेरिकी राष्ट्रपतिको वार्षिक ४ लाख डलर तलब पाउँछन् । यस बाहेक राष्ट्रपतिले खर्च बापत थप ५० हजार डलर पाउँछन् ।

वाशिंगटन डीसीमा रहेको ह्वाइट हाउस संयुक्त राज्यका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । यहाँ बस्नका लागि उनीहरुले आफ्नो खल्तीबाट केही खर्च गर्नु पर्दैन ।

राष्ट्रपति पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्दा उनलाई एक लाख डलर दिइन्छ । यो पैसा उनीहरुले आफ्नो सुविधा अनुसार घरको सजावटमा खर्च गर्न सक्छन् । राष्ट्रपतिले मनोरञ्जन, कर्मचारी र भान्छाका लागि पनि वार्षिक १९ हजार डलर पाउँछन् । अमेरिकी राष्ट्रपतिको सबै स्वास्थ्य सेवाहरू निःशुल्क छन् ।

अमेरिकी राष्ट्रपतिले यात्राका लागि लिमोजिन कार, मरीन हेलिकप्टर र एयर फोर्स वन नामको हवाईजहाज पाउँछन् । राष्ट्रपतिको फ्लीटमा समावेश लिमोजिन कारहरू आधुनिक सुरक्षा र सञ्चार प्रणालीले सुसज्जित हुन्छन् ।

राष्ट्रपतिको प्राथमिकता अनुसार लिमोजिन कारमा समय समयमा आवश्यक परिमार्जन हुँदै आएको छ । त्यस्तै एयर फोर्स वानको विमानसँग करिब चार हजार वर्ग फिट ठाउँ छ । यसलाई 'फ्लाइङ क्यासल' र 'फ्लाइङ ह्वाइट हाउस' पनि भनिन्छ, किनभने यो एकदमै सुरक्षित छ ।

यस विमानमा राष्ट्रपतिलाई आफ्नो दैनिक काम गर्नका लागि आवश्यक सबै सुविधा उपलब्ध गराइएको छ । राष्ट्रपति बाहेक एयरफोर्स वानमा करिब १०० कर्मचारीको यात्राको व्यवस्था छ । संयुक्त राज्यका राष्ट्रपतिले एन्ड्रयूज एयर फोर्स बेसबाट आफ्नो अन्तर्राष्ट्रिय उडानहरू लिने गर्दछन् ।

वाशिंगटनमा आफ्नो आधिकारिक निवासबाट एयरपोर्टसम्म, उनी मरिन वन हेलिकप्टरमा यात्रा गर्छन् । प्रत्येक सार्वजनिक अधिकारीले प्रत्येक वर्ष वा समय समयमा तलब वृद्धि प्राप्त गर्दछ तर अमेरिकी राष्ट्रपतिको तलब २००१ पछि बढेको छैन । २००१ मा जर्ज डब्लु बुशले पदभार ग्रहण गरेपछि तलब बढाइएको थियो ।

जर्ज वाशिंगटन अमेरिकाको पहिलो राष्ट्रपति थिए । उनले वार्षिक २००० डलर तलब पाउँथे । त्यो समय अनुसार यो ठूलो रकम थियो । यसबाहेक वाशिंगटन आफैँ एक समृद्ध किसान थिए ।

डोनाल्ड ट्रम्प, जोन एफ केनेडी र हर्बर्ट हुवर जस्ता धनी अमेरिकी राष्ट्रपतिहरूले आफ्नो वार्षिक तलब दान गरेका थिए ।

यसबाहेक अमेरिकी राष्ट्रपतिले अवकाश पछि बार्षिक २ लाख ४० हजार डलर आजीवन पेन्सन पाउँछन् ।



नयाँ