arrow

ट्रम्पको पहिलो कुराकानी मोदीसँग, भने – भारत र मोदी सच्चा साथी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
modi-trump-2019.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेपछि डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् । 

चुनावमा प्रतिस्पर्धी कमलादेवी ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औँ  राष्ट्रपतिका लागि निर्वाचित भएका हुन् । मोदीले ट्रम्पलाई चुनाव जितेकामा बधाई दिँदै विश्व शान्तिका लागि मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । 

जवाफमा ट्रम्पले भने– मोदीलाई सारा संसारले माया गर्छ । भारत र मोदी मेरो सच्चा साथी हो । 

मोदीले ट्रम्पलाई चुनाव जितेको केही घण्टापछि नै फोन गरेर ऐतिहासिक विजयको लागि बधाई दिएका थिए । सो क्रममा ट्रम्पले पनि मोदीको खुलेर प्रशंसा गर्दै भारत र मोदी आफ्नो सच्चा साथी भएको बताएका हुन् । 

ट्रम्प निर्वाचित भएको करिब तीन घण्टापछि मोदीले उनलाई बधाई दिएका थिए भने त्यसको १२ घण्टाभित्र दुई नेताबीच टेलिफोन वार्ता भएको थियो । 

राष्ट्रपतिको चुनाव जितेपछि मोदी ट्रम्पसँग कुरा गर्ने पहिलो विश्वका नेतासमेत बनेका छन् ।

ट्रम्पले मोदीलाई आफ्नो विजयलाई ऐतिहासिक मात्र नभई भारत र अमेरिकाबीचको रणनीतिक सम्बन्धलाई थप मजबुत बनाउन आफूसँग मिलेर काम गर्ने सन्देश पनि दिएका छन् ।

सो क्रममा दुवै नेताले विश्व शान्तिका लागि मिलेर काम गर्ने बताए । आफ्नो चुनावी यात्रामा धेरै पटक मोदीको नाम लिएर आफ्नो विशेष साथीको रुपमा व्याख्या गर्ने डोनाल्ड ट्रम्पले वार्ताका क्रममा मोदी र भारतलाई नै आफ्नो सच्चा मित्र ठान्ने कुरा दोहोर्याएका थिए । 

ट्रम्पको पहिलो कार्यकालमा २०१९ मा ‘हाउडी मोदी’ र २०२० मा ‘नमस्ते ट्रम्प’ जस्ता ठूला कार्यक्रममा देखिने मोदीसँगको अमेरिकी राष्ट्रपतिको मित्रताको रंग दोस्रो कार्यकालमा पनि कायम रहने स्पष्ट छ ।

ट्रम्पलाई सम्बोधन गर्दै मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘तपाईंलाई ऐतिहासिक जितको लागि हार्दिक बधाई । तपाईंको अघिल्लो कार्यकालको सफलताको आधारमा, म भारत–अमेरिका विश्वव्यापी व्यापक र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न पारस्परिक सहयोगको अपेक्षा गर्दछु । हाम्रा जनताको हित, विश्व शान्ति, स्थिरता र समृद्धिका लागि मिलेर काम गरौँ ।’

मोदीले तस्बिरसमेत पोष्ट गर्दै आफ्नो पहिलो कार्यकाल (२०१६–२०) ट्रम्पसँगको भेटका चार फरक–फरक तस्बिर पनि शेयर गरेका थिए । 

ट्रम्पसँग कुरा गरेपछि मोदीले एक्समा लेखेका थिए, ‘मेरो साथी डोनाल्ड ट्रम्पसँग धेरै राम्रो कुराकानी भयो । मैले उनको शानदार जितको लागि बधाई दिएँ । उनीसँग मिलेर हामी प्रविधि, रक्षा, ऊर्जा, अन्तरिक्ष र अन्य धेरै क्षेत्रमा भारत र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने आशा गर्छौं ।’
मोदी र ट्रम्पबीचको केमेस्ट्री पहिलो कार्यकालको तुलनामा यसपटक बलियो देखिन सक्ने विज्ञहरू बताउँछन् । चुनावी प्रचारका क्रममा ट्रम्प आफैंले यस्तो संकेत गरेका थिए ।

एकपटक उनले भनेका थिए, ‘भारतका प्रधानमन्त्री मोदी मेरा साथी हुन् । उनी धेरै राम्रा छन् । उनी सत्तामा आउनुअघि भारत निकै अस्थिर थियो । उनी बाहिरबाट मेरो बुबा जस्तो देखिन्छ । उनी एक अद्भूत व्यक्ति हुन् तर धेरै बलियो छन् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ