arrow

 भिजिबिलिटी कम हुँदा रवि लामिछानेलाई भैरहवा ल्याउने यतिको जहाज अझै उडेन

logo
नारायण वली,
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
gautam-buddha-airport-visibility-81-7-27.jpg

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइँदैछ । लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा ल्याएपछि जिल्ला प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलको कार्यालय लगी बयान लिइने छ । 

उनलाई भैरहवा ल्याउने भनेसँगै बिहानैदेखि गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । तर भिजिबिलिटी कम हुँदा उनलाई जहाजबाट भैरहवा नै ल्याउन सकिएको छैन । 

भैरहवामा भिजिबिलिटी कम भइरहँदा अहिले हल्का घाम लागेको छ । कम्तीमा १८ सय मिटर भिजिबिलिटी नभइ जहाज ल्याउन नमिल्ने भएकामा अहिले १२ सय पुगेको विमानस्थलका एक अधिकारीले बताए । 

उनलाई बिहान ७:४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिएको थियो । 

साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ । यसअघि पूर्वडीआईजी छविलाल जोशीसँग दुई दिन लगाएर बयान लिइएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सो सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर लामिछानेलाई उपस्थित गराइदिन सहयोग मागेको थियो । 

लामिछाने सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका थिए ।

उनलाई कात्तिक ३ गते बिहान कास्की ल्याइएको हो । उनी सोही दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ ।

लाछिानेसँगै पूर्वडीआइजी जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् ।

रास्वपाको आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ