- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्नो राजनीतिक यात्रा इमान र निष्ठामा आधारित भएको बताएका छन् । एक सांसदले करोडौँ घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएपछि सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरूले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताए ।
उनले भने, ‘ मेरो राजनीतिक यात्रा मलाई जतिले चिन्नुहुन्छ, इमान र निष्ठामा आधारित छ । मेरो राजनीतिको पुँजी कसैले सोध्यो भने मसँग घर छैन, गाडी छैन । कुनै आर्थिक प्रवन्ध पनि छैन । म निष्ठा र इमानको बलमा राजनीति गरिरहेको छु र म यहाँसम्म आइपुगेको छु । त्यो मेरो देशभरका शुभचिन्तकहरुको मेराप्रतिको सद्भाव, मेरा जिल्लावासी, मतदाताहरुको मेराप्रतिको सद्भाव, मेरो शक्ति, मेरो राजनीतिक तागत मैले त्यही नै ठानेको छु । आगामी दिनमा पनि मैले मेरो यो तागतलाई सुदृढ बनाउने, बलियो बनाउने, इमान र निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ काम गरिरहेको छु । पार्टीबाट निर्वाचित एक जना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु । इमान र निष्ठा जुन मेरो मुल पुँजी हो, त्यसमाथि धावा बोल्ने कुराले मेरो भावनामाथि गम्भीर चोट पुगेको छ । यसका निम्ति मैले के गर्नुपर्छ ? मैले साँच्ची नै गल्ती, कमी, कमजोरी गरेको छु भने मन्त्री मात्रै होइन, पार्टीको सहमहामन्त्री र सांसदको रुपमा नेपाली कांग्रेस जस्तो गौरवशाली पार्टीको सदस्यको रुपमा म बस्न मिल्दैन । त्यसमा म स्पष्ट छु । त्यतिमात्रै होइन, गठबन्धन सरकार एउटा प्रतिवद्धताकासाथ, एउटा कमिटमेण्टका साथ सरकारमा छ । सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीपरिषद्को एउटा संकल्प छ, हामी सुशासन स्थापित गरौँ, राजनीतिक स्थिरता दिऔँ, देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाऔँ भन्ने सरकारको र सम्माननीय प्रधानमन्त्रीज्युको हामी सबैको कमिटमेण्ट छ । यदी उनले भनेजस्तो सत्य हो भने त्यो कमिटमेण्टलाई धब्बा लाग्नेगरी, त्यो कमिटमेण्ट कमजोर हुनेगरी मैले मन्त्रीमा रही रहन मिल्दैन । पार्टीको ठाउँबाट पार्टीको सदस्य रही रहन पनि मिल्दैन, सरकारको ठाउँबाट मन्त्री रही रहन पनि मिल्दैन । त्यसैले मैले सरकारको प्रधानमन्त्री र मन्त्रीपरिषद्लाई पनि भन्नुपर्नेछ, मेरो पार्टीलाई पनि भन्नुपर्नेछ, मबाट यदी कुनै किञ्चित गल्ती कमजोरी भएको छ भने मलाई यहाँ बस्ने छुट छैन । ’
उनले इमानदार मान्छेहरूले नैतिकताको बाटोबाटै सङ्घर्ष र प्रतिवाद गर्न सक्ने उनको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानबिन गर्न पनि आग्रह गरे । आफूबाट जानेर-नजानेर कुनै पनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गरे । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवर्द्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताए ।
उनले भने, ‘ इमान र निष्ठाको जित हुन्छ भन्ने कुरा स्थापित गर्न चाहन्छु । मलाई चिन्नेले चिन्नु नै भएको छ, नचिन्नेहरुले पनि चिन्ने कोसिस गर्नुस् । सरकार र पार्टीलाई मैले केही गरेँ की भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस् । मबाट कुनै पनि खालको कमजोरी जानेर-नजानेर त्यो प्रकारको कमजोरी भएको छ भनेदेखि जुनसुकै बेला म सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हर्दम जुनसुकै बखत पनि तयार छु ।’
मन्त्री पाण्डेले आफू स्वच्छ राजनीतिक चरित्रबाट अहिलेसम्म अघि बढिरहेको बताए । उनले गलत कामहरू हुन नदिने र राम्रा कामहरू रोक्न नहुने पक्षमा आफू रहेको बताए । उनले देशले अहिले भोग्नुपरेको सुशासनको समस्या समाधानका लागि वर्तमान सरकार र आफूले काम गरिरहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आफूसँग निष्ठा र इमान बाहेक अन्य राजनीतिक सम्पत्ति नरहेको बताए । उनले निष्ठाको तागतलाई बलियो बनाउने ध्येयका साथ आफूले काम गरिरहेको बताए ।