- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अजरबैजानको बाकुमा आयोजित कोप-२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वमा कोप-२९ मा सहभागी भएको नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्किएको हो । सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले नेपालले कोप-२९ मा राष्ट्रपति पौडेलले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई विशेष जोड दिएको बताए ।
उनका अनुसार राष्ट्रपति पौडेलले जलवायुजन्य प्रकोपहरूले नेपालमा ठूलो जनधनको नोक्सानी भएको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । जलवायु न्यायका लागि विकसित देशहरूले विकासशील देशहरूलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिनुभएको पनि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहसचिव राईले बताए ।
अजरबैजानमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको भेट गर्नुभएको थियो । जसमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरू कारक नभए पनि उनीहरूले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरू अझ बढी जिम्मेवार हुनुपर्ने धारण महासचिवले राख्नुभएको बताए ।
त्यस्तै अजरबैजानका राष्ट्रपति इलहाम अलियबको भेटमा अबको १ वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्सनका लागि सक्रिय रहने कुरा गर्नुभएको जानकारी गराए । उनले नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रस्तावहरू पेस गरेमा अजरबैजानका लगानीकर्ताहरू लगानीका लागि तयार रहेको कुरा पनि राष्ट्रपति अलियबले बताएको सहसचिव राईले जानकारी दिए ।
उनले भने, ‘जलवायु परिवर्तनमा अल्पविकसित देशहरू कारक नभए पनि उनीहरूले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरू अझ बढी जिम्मेवार हुनुपर्ने विषय संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा महासचिवले बताएका छन् । सो क्रममा अजरबैजानका राष्ट्रपति महामहिम इलहाम अलियबसँग भेटघाट गरे । सफलतापूर्वक कोप २९ सम्मेलन आयोजना गरेकोमा अजरबैजानलाई धन्यवाद ज्ञापन गरे । साथै दुई पक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा पनि कुराकानीहरू भएका छन् । अबको १ वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्सनका लागि सक्रिय रहने कुरा अजरबैजानका राष्ट्रपतिले गरेका छन् । नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रस्तावहरू पेस गरेमा अजरबैजानका लगानीकर्ताहरू लगानीका लागि तयार रहेको कुरा पनि बताएका छन् । यस सम्मेलनमा राष्ट्रपतिज्यूले जलवायु न्याय, जलवायु वित्त र त्यसमा पनि क्षतिपूर्तिको विषयलाई जोड दिनुभएको छ । जलवायुजन्य प्रकोपहरूले नेपालमा ठूलो जनधनको नोक्सानी गरिरहेको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषय अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ । जलवायु न्यायका लागि विकसित देशहरूले विकासशील देशहरूलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिनुभएको छ । हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्ने कुरालाई हरेक मञ्चहरूमा उठाएको विषय निकै प्रभावकारी भएको महसुस गरिएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको सन्देश दिनुभएको छ ।’
सहसचिव राईका अनुसार राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्ने कुरालाई हरेक मञ्चहरूमा उठाएको विषय निकै प्रभावकारी भएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको र सगरमाथा संवादमा उपस्थित हुन आह्वान गरेको बताए ।