- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी शनिबार ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गर्ने भएको छ ।
बैंकले खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दूरीको रोड रेस आयोजना गर्ने भएको हो । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।
खुल्लातर्फको १० किलोमिटरमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । कर्पोरेटतर्फको ५ किलोमिटरमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउने छन् ।
‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ७५,०००, रु. ६०,०००, रु. ४५,०००, रु. ३०,००० र रु. १५,००० नगद पुरस्कार प्रदान गरिने छ ।
‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाइट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पर्क गरी नाम दर्ता गराउन सकिने बैंकले जनाएको छ ।
निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेकोसमेत जनाएको छ ।
२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले सो अवसरमा काठमाडौँमा ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरुसमेत आयोजना गर्ने भएको छ ।
विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसँगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको जनाएको छ ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।