arrow

कुटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्री देउवाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
arju-rana-deuba-minister.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले खेल कुटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीलाई आग्रह गरेकी छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कुटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायलाई आग्रह गरेकी हुन् ।

अहिले खेलकुदको आकर्षण र महत्व विश्वव्यापी रुपमा बढ्दै गएकाले अन्य क्षेत्रजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कुटनीतिक प्रयास र पहललाई अगाडि बढाउन सक्ने उनको भनाइ थियो ।

उनले भने, “नेपालका हिमाल, पहाड, नदी तथा खोला साहसिक पर्यटनका लागि संसारमै प्रख्यात छन्, त्यसैले हामीले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कुटनीतिको विकास र विस्तार गर्न सकिन्छ, त्यसका लागि नेपालको पर्यटन तथा खेलकुद मन्त्रालयले समन्वयात्मक रुपमा काम गर्नुपर्दछ ।”

गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसिडी (एसियन कोअपरेसन डायलग) को तेस्रो सम्मेलनमा खेल कुटनीतिलाई प्रमुख विषयका रुपमा राखिएको र नेपालले पनि खेल कुटनीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसै विषयमा आवश्यक परामर्श एवं छलफल गर्न सम्बद्ध मन्त्रालय एवं निकायसँग सो बैठक राखिएको थियो ।

मन्त्री डा राणाले नेपालामा माउन्टनेयरिङ, र्‍याफ्टिङ आदि क्षेत्रका साहसिक खेलमा विश्वकै पर्यटकको रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पर्यटक भित्र्याई आर्थिक कुटनीतिका क्षेत्रमा ठूलो योगदान पुर्याउन सकिने बताए ।

उनले खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने धारणा राख्दै नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको धारणा राखे ।

मन्त्री डा राणाले भनिन्, “हामीले अहिले आर्थिक कुटनीतिको प्रवर्द्धनमा जोड दिएका छौँ र यसका लागि अलग्गै महाशाखा स्थापनाको योजनामा पनि छौँ, त्यसैले आर्थिक कुटनीतिको प्रवर्द्धनका लागि पनि हाम्रो देशको साहसिक खेलको सम्भावनालाई अधिकतम् उपयोगमा ल्याउन सम्बद्ध सबै क्षेत्रसँग आग्रह गर्दछौँ ।”

सो परामर्श बैठकमा रक्षामन्त्री मानवीर राईले हाम्रो देशमा रहेको पर्यटन र साहसिक खेलको सम्भावनालाई कुटनीतिसँग जोडेर पर्यटन कुटनीतिको विकास गर्ने योजना बनाउन आग्रह गरे ।

सो बैठकमा परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद मन्त्रालयका सचिवहरु, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यावसायिक सङ्घसंस्थाले पनि नेपालमा साहसिक खेलका सम्भावना, आवश्यकता र चुनौतीका विषयमा सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ