arrow

महाराष्ट्रमा भाजपाको कीर्तिमानी सफलतापछि प्रधानमन्त्री मोदीले भने – विकास र सुशासनको ऐतिहासिक जित  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
narendra-modi-24-11-23.jpg

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राखेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन् 

महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल गरेको छ । विपक्षी गठबन्धन महाविकास अघाडीले ४८ सिटमा जित हासिल गरेको छ । अन्यले १० सिट जितेको छ । 

त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जितेको छ । यहाँ जेएमएम एक्लैले ३४ सिट, कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले) ले २ सिट जितेको छ ।

झारखण्डमा विपक्षी भाजपा गठबन्धनले २४ सिट जितेको छ । अन्यले १ सिट जितेको छ । 

महाराष्ट्रमा भाजपाको ऐतिहासिक सफलता हो । यसअघिको निर्वाचनमा भाजपा गठबन्धनले २०७ सिट जितेको थियो भने अहिले २३ सिट फाइदा भएको छ । 

त्यस्तै कांग्रेस गठबन्धनले यसअघि ७८ सिट जितेकामा अहिले ३० सिट घाटा खाएर ४८ मा रोकिएको छ । 

झारखण्डमा भने भाजपालाई ६ सिट घाटा लाग्दा जेएमएस नेतृत्वलाई ९ सिट फाइदा भएको छ । 

प्रधानमन्त्री मोदीद्वारा आभार प्रकट–

सामाजिक सञ्जाल एक्समा एक पोस्टमा प्रधानमन्त्री मोदीले भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गर्दै महाराष्ट्रको प्रगतिको लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिएका छन् । 

सन्देशमा उनले लेखेका छन्, “विकासको जित, सुशासनको जित हुन्छ । एकताबद्ध भएर हामी अझ माथि उक्लनेछौं । एनडीएलाई ऐतिहासिक जनादेश दिएकोमा महाराष्ट्रका मेरा दिदीबहिनी र दाजुभाइ र विशेष गरी राज्यका युवा र महिलाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।” 

उनले थपे, “यो स्नेह र न्यानोपन अतुलनीय छ। म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो गठबन्धनले महाराष्ट्रको प्रगतिको लागि काम गरिरहनेछ। जय महाराष्ट्र !”

प्रधानमन्त्री मोदीले विभिन्न राज्यका जनतालाई विभिन्न उपचुनावमा एनडीएका उम्मेदवारलाई आशीर्वाद दिएकोमा पनि धन्यवाद दिएका छन् । 

कांग्रेस सामाजिक न्यायका लागि लड्ने अध्यक्ष खड़गेको भनाइ–

यता कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले पनि झारखण्ड र महाराष्ट्रको चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । 

चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गर्दै एक्समा गरिएको पोष्टमा खड़गेले झारखण्डका लागि लेखेका छन्, “झारखण्डका जनताले आफ्नो सार्वजनिक अधिकार, पानी, जङ्गल, भूमिको मुद्दालाई प्राथमिकताका साथ रोजेका छन् ।’

उनले  ‘विभाजनकारी र झूटको राजनीतिलाई अस्वीकार गर्दै भने, “हामीले संवैधानिक संस्थाहरूको दुरुपयोगको खेललाई परास्त गरेका छौं ।” 

उनले हेमन्त सोरेन र गठबन्धनका सबै नेतालाई धन्यवाद दिएका छन् भने सबै काङ्ग्रेस कार्यकर्तालाई हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

उनले भने, “हामीले सामाजिक न्यायका लागि लड्नुपर्छ, जनताको आवाजलाई उच्च राख्नुपर्छ, जवाफदेही सरकार बनाउनुपर्छ । विश्वास अक्षुण्ण छ ।”

महाराष्ट्रको चुनावी परिणामबारे कांग्रेस अध्यक्ष खड्गेले लेखेका छन्, “महाराष्ट्रको परिणाम अनपेक्षित छ । पार्टीले यी परिणामहरूको तहसम्म पुग्न र वास्तविक कारणहरू बुझ्न प्रयास गरिरहेको छ। हामी हाम्रा नेता, कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद दिन्छौँ । हामी छत्रपति शिवाजी, शाहूजी, फुले र बाबासाहेब अम्बेडकरको विचारधाराका सच्चा प्रतीक हौं।”



नयाँ