arrow

अदालतमा रविसहित चारै जनाको थुनछेक बहस जारी, बाहिर कडा सुरक्षा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
baidam-final-photo.jpg

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनाको अदालतमा थुनछेक बहस जारी छ । बहस सकिएपछि उनीहरूलाई के गर्ने भन्ने विषयमा न्यायाधीशले निर्णय गर्नेछन् ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदै छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनीहरूलाई बिहान १० बजे नै अदालत पुर्याइएकाे थियो ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।

कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्‍याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।

कास्कीमा आज पनि म्याद थप भए केही दिनमै काठमाडौँ लैजाने तयारी छ । अदालतले रिहा गरिदिए लगत्तै पक्राउ गरेर काठमाडौँ पठाउने प्रहरीको तयारी छ ।

उनीमाथि विभिन्न मुद्दामा अनुसन्धान भइरहेकाले म्याद थप हुने सम्भावना बढी रहेको बताइन्छ । लामिछानेलाई बयानका लागि काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको डीएसपी शर्माको भनाइ ।

लामिछानेलाई आज अदालतले म्याद थप गरिदिए केही दिनमा र रिहा गर्ने निर्णय गरे आजै पक्राउ गरी रुपन्देही पठाइने सम्भावना रहेको डीएसपी शर्माले बताए ।

काठमाडौँमा जोशीको बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।

यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीमाथि पनि अनुसन्धान जारी छ । उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो ।

लाछिानेसहितलाई अदालत पुर्‍याइएसँगै शहीदचोक, राष्ट्रबैंकचोक, वाईचोक, बैदाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यी क्षेत्रमा सयौँका सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । सुरक्षाकर्मीले त्यस क्षेत्रमा सवारी सञ्चालनमा पनि रोक लगाएको छ ।

तस्बिरहरु : सुदर्शन रञ्जित



नयाँ