arrow

सामाजिक सुरक्षा दिवस

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्-श्रीमती र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
kabiraj-adhikari-.jpg

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । मङ्गलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समरोहमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराएका हुन् । उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान्–श्रीमती र १८ वर्ष नकेटाका उनीहरूका छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए । 

उनले कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएको जानकारी गराउँदै आबद्ध हुने श्रमिकको सङ्ख्या निरन्तर वृद्धि भइरहेको बताए । उनले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिबारलाई भुक्तानी गरिसकेको बताए । 

उनले कोष कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिए । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित गर्ने उनको भनाइ छ । 

कार्यकारी निर्देशक अधिकारीले भने,‘औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भइसक्नुभएको छ । वैदेशिक रोजगारमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिकहरू औपचारिक तथा अनौपचारिक श्रमिकहरूसहित १७ लाख ९४ हजार सात सय ४० श्रमिकहरू कोषमा आबद्ध भइसकेको अवस्था छ । यो हिजोको तथ्याङ्क हो । त्यसै गरी कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाहरू अन्तर्गत योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ । आजसम्म कोषले सञ्चालन गरेका औषधि उपचार तथा मातृत्व योजनामा तीन लाख ७४ हजार एक सय वटा दाबी बापत एक अर्ब ४८ करोड १९ लाख ८ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा सात हजार एक सय १७ वटा दाबी बापत १५ करोड २० लाख र आश्रित परिबार सुरक्षा योजना अन्तर्गत पाँच सय ८७ श्रमिकका परिबारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड गरि ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिबारलाई भुक्तानी गरिसकेको अवस्था छ । विश्वका असल अभ्यासहरूलाई आत्मसाथ गर्दै कोषले सामाजिक सुरक्षाको प्रभावकारितालाई मध्यनजर गर्दै अगाडि बढिरहेको छ । पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अहिले उनीहरूका श्रीमान्, श्रीमती र १८ वर्ष नकेटाका छोराछोरीहरूले समेत अहिले उपचार थप गरिएको ब्यहोरा जानकारी गराउँदछु । कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको छ । यसै आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको छ । जसले गर्दा सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित हुनेछ । ’

उनले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको सङ्ख्या ९० रहेको बताए । उनले कोषका सम्पूर्ण सेवाहरूलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ