arrow

कञ्चनजंघाले अलपत्र छाडेको बुटवलको ६ लेन सडक बावुल दर्शनले सक्ला ?

logo
नारायण वली,
प्रकाशित २०८१ मंसिर १९ बुधबार
chauraha-chidiya khola- road- butwal-2.jpg

लुम्बिनी । २०७३ मा पहिलो ठेक्का सम्झौता भएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । करिब साढे तीन किलोमिटर सडकखण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि अहिले नयाँ ठेक्का लगाइएको छ ।

पुरानो ठेकेदार कञ्चनजंघा बिरुवा जेभीसँग २०७३ साल चैत्र १७ गते ०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत बैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द भएपछि नयाँ टेण्डर प्रक्रियाबाट बावुल दर्शन मालिका जेभी भैरहवासँग आगामी असोज १८ गते १ वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

उनले भने, 'यसअघि सात वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि मुख्य सडक छेवैका व्यवसायीहरु पलायन हुनु परेको, आमसर्वसाधारण, व्यापारी, सवारी आवागमन र पदैलयात्री समेतले सास्ती बेहोर्नु परेपछि चर्को जनगुनासो बढ्नुको साथै विभिन्न संघसंस्थाहरुले दबाबमुलक ज्ञापनपत्र बुझाएका थिए । सोही अनुरुप गत वैशाखमा सडक डिभिजन बुटवलले उक्त ठेक्का रद्द गरेर अहिले सो सडकलाई एक वर्षभित्र निर्माण सक्ने गरी ठेक्का लगाईएको छ । फेरि पनि पहिले जस्तै ठेकेदारले निर्धारित समयावधिमा निर्माणकार्य नसके कानून अनुसार कारबाही गरिने छ ।'

डिभिजनका अनुसार चौराहादेखि गोलपार्कसम्मको सडकलाई ६ लेनमा विस्तार गर्नका लागि भ्याटसहित ३३ करोड, ३७ लाख, ७१ हजार पाँच सय ६८ रुपैयाँ ७६ पैसामा ठेक्का लगाइएको बताइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बुटवलका अध्यक्ष समुन्द्र जिसीले बुटवल व्यापारिक ठाउँ भएकाले सडक निर्माणमा बिलम्व नगरी तीव्र निर्माणमा जोड दिनुपर्ने बताए । पहिलेको निर्माण ठेकेदारले सडकलाई अस्तव्यस्त बनाएर छोड्दा दुर्घटनाको जोखिम र बजारीकरणमा समस्या भएकाले तोकिएकै समयमा सक्ने गरी काम गर्नुपर्ने सुझाए । 

बुटवल बेलहिया सडकखण्ड विस्तारकार्य चौराहसम्म पूरा भइसकेको र लामोसमय बाँकी रहेको चौराह चिडियाखोला सडक अलपत्र जस्तै बन्दै आएको थियो ।

चौराहदेखि चिडियाखोलासम्म निर्माण कार्यलाई गतिका साथ अगाडि बढाइएको र तोकिएकै समयमा काम सक्ने दाबी गर्दै केही स्थानमा विद्युत्, खानेपानी र प्रहरी बिट भएकाले सम्बन्धित निकायले ध्यानदिनुपर्ने बावुल दर्शन मालिका जेभीका साईड इन्जिनियर प्रविण मिश्रले बताए ।

फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको र सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने गरी ठेक्का सम्झौता भएको इन्जिनियर मिश्रको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ