गिरीबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन गर्न प्रचण्डको माग [भिडियो]
गिरीबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो, भ्रष्टाचार लुकाउन लागिपरेको छ
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
794
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाएका छन् । मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरीबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताए । उनले गिरीबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरूमाथि कारबाही हुनुपर्ने बताए ।
उनले भने, ‘मैले दोस्रो चरणमा गिरीबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । र म गिरीबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । र अहिले गिरीबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरीबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्यो । त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुपर्यो । उनीहरूमाथि कारबाही गर्नुपर्यो । यहाँ अर्बौँ भ्रष्टाचार गर्नेहरू, देशभित्र बाहिर सम्पत्ति राखेको आरोप आइराखेको छ । त्यसलाई छानबिनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढवा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरूमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौँ ।’
प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरू नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाए । उनले कांग्रेस र एमालेका नेताहरूले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दाबी गरे । उनले लामिछानेलाई पक्राउ गरेको गम्भीर मूल्य एमाले र कांग्रेसले चुकाउनुपर्ने बताए ।