काठमाडौँ। लक्ष्मी सन्राईज बैङ्क लिमिटेडको अगुवाइमा सहवित्तीय करणमा सहभागी बैङ्कहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालि बीच सो कम्पनीले लमजुङ जिल्ला स्थित मर्स्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेवा क्षमताको अप्पर मर्स्याङ्दी -१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सो आयोजनाको कूल लागत रु २१.४० अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
अपर मर्स्याङ्दी हाइड्रोपावर-१ ले पौष १०, २०७५ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै पौष ०९, २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ। सो कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन्।
सो परियोजना निर्माणको लागि लक्ष्मी सन्राईज बैङ्कको नेतृत्वमा सह वित्तीय करणमा सहभागी बैङ्कहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक / संस्थापकहरूको लगानी रहने छ।
लक्ष्मी सन्राईज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ७ अर्ब रहेको छ भने सह वित्तीय करणमा सहभागी अन्य बैङ्कहरू मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैङ्कको ६ अर्ब तथा प्रभु बैङ्कको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र ऊर्जा उत्पादक मध्य एकको रूपमा रहने विश्वास लिइएको छ।