दिल्ली विधानसभा चुनावमा पोष्टर वार, केजरीवालविरुद्ध दुई पूर्व मुख्यमन्त्रीका पुत्रहरू
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
2k
Shares
काठमाडौँ । भारतको दिल्ली विधानसभा निर्वाचनको मिति तय भएको छ । ७० सिट रहेको दिल्ली विधानसभाको मतदान एकै चरणमा आगामी फेब्रुअरी ५ तारिखमा हुँदैछ ।
नतिजा ८ तारिखमा आउने छ । मुख्य चुनाव आयुक्त राजीव कुमारले मंगलबार दिल्ली चुनावी प्रक्रिया ३३ दिनमा पूरा हुने बताए ।
सन् २०१५ र २०२० को तुलनामा यसपालि चुनाव एक साताअघि नै सकिने छ । दिल्लीमा १ करोड ५५ लाख मतदाता रहेका छन् । जसमा ७१ लाख महिला छन् ।
रोचक त के भने दिल्लीमा १०० वर्षभन्दा माथिका मतदाता ८३० जना छन् । त्यस्तै ८५ वर्षमाथिका मतदाता एक लाख ९ हजार रहेका छन् ।
१० देखि १७ जनवरीसम्म उम्मेदवारी दर्ता गराउने समय रहेको छ । २० जनवरीमा उम्मेदवारी फिर्ता लिन सकिने छ । ५ फेब्रुअरीमा मतदान हुनेछ भने ८ फेब्रुअरीमा नतिजा आउने छ ।
तीन दलबीच प्रतिस्पर्धा
दिल्लीमा तीन दलबीच प्रतिस्पर्धा हुनेछ । जसमा आम आदमी पार्टी (आप), भारतीय जनता पार्टी (भाजपा) र भारतीय कांग्रेस (कांग्रेस आई) प्रतिस्पर्धी हुनेछन् ।
मुख्य प्रतिस्पर्धा भने आप र भाजपाबीच हुनेछ ।
सन् २०१३ मा आपले २८ सिट जितेकामा सन् २०१५ मा ६७ तथा सन् २०२० मा ६२ सिट जितेको थियो ।
त्यस्तै भाजपाले सन् २०१३ मा ३१ सिट जित्दा २०१५ मा झरेर ३ सिटमा पुगेको थियो । २०२० मा केही सुधार गर्दै ८ सिट जितेको थियो ।
२०१३ मा ८ सिट जितेको कांग्रेसले त्यसपछिका दुवै चुनावमा कुनै सिट जित्न सकेन ।
मतको आधारमा हेर्ने हो भने २०१३ मा २९.४९ प्रतिशत मत ल्याएको आपले २०१५ मा ५४.३४ तथा २०२० मा ५३.५७ प्रतिशत मत ल्याएको थियो ।
भाजपाको प्रतिशत खासै घटेको छैन । २०१३ मा ३३.०७, २०१५ मा ३२.१९ तथा २०२० मा ३८.५१ प्रतिशत मत ल्याएको छ ।
कांग्रेस भने २०१३ मा २४.५५, २०१५ मा ९.६५ तथा २०२० मा ४.२६ प्रतिशत मत ल्याएर स्तर खस्काउँदै गएको छ ।
यसपालि के होला स्थिति ?
यसपालि आम खस्किने अनुमान भइरहेको छ । २०१३ मा चमत्कार गरेर चुनावमा होमिएको आपले त्यसपछिका दुई कार्यकाल भारी बहुमतसहित कब्जा जमाएको भए पनि यसपालि उसलाई फलामको च्यूरा चपाएसरह हुने अनुमान भइरहेको छ ।
किनकि आपका प्रमुख अरविन्द केजरीवाल मदिरा घोटाला काण्डमा जेलसमेत गइसकेका छन् ।
जेलमा रहे पनि उनले पद छाडेनन् । बाहिर आएपछि भने पुनः जनताबाट चुनाव जितेर फर्किने भन्दै आपकै नेतालाई मु्ख्यमन्त्रीको पद सुम्पेका छन् ।
आपका लागि जे हुन् सबै केजरीवाल नै हुन् । अहिले आपबाट केही सांसदहरु भाजपामा गइसकेका छन् । मन्त्रीलेसमेत पद छाडेर भाजपामा गएका छन् ।
यसले आपको क्रेज घटेको र भाजपाको क्रेज बढेको देखाउँछ । आप र कांग्रेस छाडेर भाजपा आएका ७ नेतालाई भाजपाले टिकट दिने पक्का भइसकेको छ ।
भाजपाले केजरीवाल विरुद्ध प्रवेश वर्मालाई मैदानमा उतारेको छ । दिल्ली सिटका लागि केजरीवालविरुद्ध भाजपाबाट प्रवेश आउँदा कांग्रेसले सन्दीप दीक्षितलाई उम्मेदवार बनाएको छ ।
केजरीवालको भिडन्त पूर्व मुख्यमन्त्री साबिह सिंह वर्माका छोरा प्रवेशसँग हुन लागेको हो । त्यस्तै सन्दीप दीक्षित कांग्रेसबाट पूर्व मुख्यमन्त्री शीला दीक्षितका छोरा हुन् ।
यसकारण पनि केजरीवाललाई ठूलै चुनौती छ ।
केजरीवालका थरीथरीका चरित्र, पोष्टर वार
भाजपाले केजरीवालविरुद्ध जमेर प्रचार गरिरहेको छ । उसले पछिल्लो ९ दिनदेखि पोष्टर वार जारी राखेको छ । भाजपाले केजरीवालविरुद्ध २० पोष्टर राखेको छ भने आपले ८ पोष्टर र सम्पादित भिडियो शेयर गरेको छ ।
बुधबारमात्रै भाजपाले केजरीवालसँग जोडिएका चार पोष्टर शेयर गरेको छ । एउटा पोष्टरमा ट्वाइलेट चोरसमेत भनिएको छ । त्यस्तै आप संयोजकलाई दुलकर सलमानको फिल्म लकी भास्करको रुपमा देखाएको छ ।
गत ३१ डिसेम्बरदेखि दुवै पार्टीबीच पोष्टर वार चलिरहेको छ ।
पोष्टर वारमा फिल्मका पोष्टर बनाइएको छ । शीशमहल, लुटका अड्डा शीशमहल, लुट संग्रहालय लगायत छन् ।
त्यस्तै आपले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई जोडेर पोष्टर निकालेको छ ।