arrow

कुश्माका दुई क्याम्पस गाभिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
gupte-shwor-multiple-college.jpg

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित दुई क्याम्पस गाभिएका छन् ।

आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थीको संख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ ।

गुप्तेश्वर क्याम्पस २०४८ देखि र शिवालय बहुमुखी क्याम्पस २०६७ देखि सञ्चालित थिए । क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुंगो लगाएको हो ।

नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमति दिएको छ ।

यसअघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठवटा उपसमिति गठन गरिएको थियो ।

समितिले दुई क्याम्पस ‘मर्ज’ गर्नका लागि कानुनी प्रावधान संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका प्रस्तुत गरेका थिए ।

अहिले गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातकोत्तरसहित दुई सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा दुई सय ६८ जना विद्यार्थी छन् ।

क्यापसमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने तर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्नुपरेको संयोजक पहाडीले सुनाए ।

दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएकामा एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको छ ।

क्याम्पस एकीकरण प्रक्रिया टुंगिएसँगै चालु शैक्षिक सत्रदेखि नै दुवैतर्फ सञ्चालित कक्षालाई एकीकृत रूपमा सञ्चालन गरिने भएको छ ।

बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र झण्डै दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षालाई विद्यार्थी र प्राध्यापकको अनुकूलता अनुसार सञ्चालन गरिने छ ।

जिल्लाभर १२ सामुदायिक क्याम्पस छन् । सबैजसो क्याम्पसमा विद्यार्थीको संख्या न्यून छ ।

विद्यार्थीको सङ्ख्या न्यून हुँदा ती क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ