अत्यधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
696
Shares
काठमाडौँ । विगत तीन दिन यता बढेको अत्यधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ । गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भए पनि मंगलबार देखि एकाएक चलेको चिसो हावा र गए राति शितको वर्षा भएपछि मधेसमा अत्यधिक चिसो महसुस गरिएको हो ।
विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ । अत्यधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ । दैनिक ज्याला,मजदुरी गर्नेहरू मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिब विपन्नहरूलाई धेरै समस्या भएको छ ।
स्थानीयहरू आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जनकपुरधाममा शुक्रवार न्यूनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शितलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।