लक्ष्मी सनराइज बैङ्कको अगुवाइमा घुन्सा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
706
Shares
काठमाडौँ। लक्ष्मी सनराइज बैङ्क लिमिटेडको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र रेमिट हाइड्रो लिमिटेडबीच ताप्लेजुङस्थित घुन्सा नदीमा निर्माण गरिने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
आयोजनाको कुल लागत करिब १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ। सहकार्यले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रलाई थप प्रवर्द्धन गर्ने विश्वास बैङ्कले व्यक्त गरेको छ।
आयोजनाको प्रमुख विशेषताहरू
विद्युत् उत्पादन अनुमति: श्रावण ०८, २०७९ मा विद्युत् विकास विभागबाट प्राप्त,
विद्युत् खरिद-बिक्री सम्झौता: वैशाख २१, २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग सम्पन्न,
प्रमुख प्रवर्द्धकहरू: नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, र विद्युत् उत्पादन कम्पनी लिमिटेडले ५१ प्रतिशत लगानी गर्ने,
सहवित्तीयकरणमा सहभागिता:
लक्ष्मी सनराइज बैङ्क : ५ अर्ब,
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी: ३ अर्ब,
नागरिक लगानी कोष: २ अर्ब,
माछापुच्छ्रे बैङ्क : १ अर्ब ४४ करोड,
एभरेस्ट बैङ्क : १ अर्ब २५ करोड,
कुल सहवित्तीयकरण : १२ अर्ब ६९ करोड ४० लाख
डिसेम्बर २०३० सम्ममा आयोजना निर्माण सम्पन्न गरी वार्षिक ४६२.२८ गिगावाट आवर विद्युत् उत्पादन गरिनेछ। यसले राष्ट्रिय प्रसारण लाइनमा जडान भई "नेपालको पानी, जनताको लगानी" जलविद्युत् अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
लक्ष्मी बैङ्क र सनराइज बैङ्कबिचको मर्जरपछि २०८० आषाढ २९ मा स्थापना भएको लक्ष्मी सनराइज बैङ्कले हाल २५४ शाखा कार्यालय, ३२७ एटिएम, २७ विस्तारित काउन्टर, १२८ शाखारहित बैङ्किङ सेवा, र ५००० विप्रेषण एजेन्टमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। आर्थिक वर्ष २०८०-८१ मा बैङ्कको कुल वासलात ३९५ अर्ब, निक्षेप ३३३ अर्ब, र कर्जा लगानी २५८ अर्ब पुगेको छ।
यस सहकार्यले नेपालको जलविद्युत क्षेत्रमा थप योगदान पुर्याउने विश्वास बैङ्कले व्यक्त गरेको छ।