arrow

संसदीय सुनुवाइ समिति

न्याय परिषद्‌मा प्रस्तावित खड्काको नाम अनुमोदन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
damodar-khadka.jpg

काठमाडौँ । न्याय परिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो । 

बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा सिफारिस भएका दामोदर खड्काको नाम संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको बताइन् । 

उनले भनिन्, ‘न्याय परिषद्को मिति २०८१, पुस २९ गतेको पत्रानुसार न्याय परिषद्को सदस्य पदमा सिफारिस हुनुभएका दामोदर खड्काको नाम संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको ब्यहोरा यहाँहरूलाई जानकारी गराउँछु ।’

समितिको बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै न्याय परिषद् सदस्यमा सिफारिस खड्काले समाजका सबै अवयवहरूले राम्रो कुरालाई अघि ल्याउनुपर्ने बताए । उनले छिटो छरितो न्याय सम्पादनका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताए ।

नेपाल बार एशोसिएशनले संसदीय सुनुवाइको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पुसको २९ गते पठाएको थियो । न्याय परिषद्मा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ ।

ती दुई सदस्यमध्ये एक जना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एशोसिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ । न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ