काठमाडौँ । भारतको प्रयागराज (उत्तर प्रदेशको पूर्वी भागमा अवस्थित तीर्थस्थलहरुको राजा भनेर चिनिने धर्मराज) मा हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो महाकुम्भ जारी रहेको छ ।
माघ २३ गतेसम्म ३८ करोडले स्नान गरेका छन् । बुधबार २४ औँ दिन हो । गत पुस २९ गते (१३ जनवरी) देखि शुरु भएको यो महाकुम्भ महाशिवरात्रीका दिन फागुन १४ गते सम्पन्न हुँदैछ ।
सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भ संगममा डुबकी लगाएका छन् । उनीसँग उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि साथमा रहेका थिए ।
मोदी ढाईघण्टासम्म प्रयागराजमा रहेर सबै वस्तुस्थितिबारेमा अवलोकन गरी साधुसन्तसँग छलफलसमेत गर्नेछन् ।
मोदी मोटरबोटबाट योगीसँग संगमपुगेका हुन् । मोदीले मन्त्रोच्चारणसहित एक्लै संगममा डुबकी लगाएका थिए ।
स्नानपछि मोदीले सूर्यलाई अर्घ्य दिएका थिए । उनले करिब पाँच मिनेट मन्त्र जप गर्दै सूर्यको पूजा गरे । यस क्रममा उनीमाथि कडा सुरक्षा घेरा दिइएको छ । उनले गंगामा पूजासमेत गरेका छन् ।
आदित्यनाथले त्यसका लागि हेलिप्याडदेखि संगम चोकसम्मको ख्याल आफैँले गर्नेछन् ।
गत जनवरी २९ मा भएको भागदौडले गर्दा ३० जनाको ज्यान गएपछि प्रशासनले निकै सावधानी अपनाइरहेको छ ।
प्रयागराज प्रहरीले अफबाह फैलाउने ८ जनाविरुद्ध एफआरआई दर्ता गरेको छ । यिनीहरुले सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा भिडियो र तस्बिर राखेका थिए ।
वसन्त पञ्चमीको साथसाथै महाकुम्भमा तीन अमृत स्नान पूरा भएको छ । अब तीन स्नान पर्व बाँकी छ । सो अवसरमा श्रद्धालुले डुबकी लगाउने छन् ।
महाकुम्भमा पुगेका श्री श्री रविशंकरले कुम्भ आफैँमा अद्भुत अनुभव भएको बताए ।
मुख्यमन्त्री योगी आदित्यनाथका सल्लाहकार अवनीशकुमार अवस्थीका अनुसार सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन र मुख्यमन्त्री योगीको व्यवस्थाका आधारमा २५ करोड भन्दा बढीले सहभागीता जनाएका थिए ।
यसपटक पलपल योगीले निगरानी गरिरहेका छन् । अप्रिय घटना नहोस् भने सुरक्षा निकाय तम्तयार रहेको छ ।
अवस्थीले यसपालि डेढ महिने महाकुम्भमा ५० करोड भन्दा बढीले सहभागीता जनाउने दाबी गरे ।
पुस पूर्णिमाबाट शुरु भएर मेला आगामी शिवरात्रीको दिनसम्म लाग्नेछ । हरेक १२ वर्षमा आयोजना हुने कुम्भमेला यसपालि प्रयागराजमा सबैभन्दा ठूलो महाकुम्भ आयोजना भइरहेको हो ।
यो महाकुम्भ मेला १२४ वर्षपछि भइरहेको हो । यो अहिलेसम्मकै ठूलो मेला हुनेछ ।
हिन्दू धार्मिक तथा पौराणिक ग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनिएको छ । त्यसैले कुम्भमेलामा लाखौं भक्तजन आफ्नो विवेक शुद्ध गर्न यस पवित्र स्थानमा स्नान गर्न आउँछन् ।
महाकुम्भमा विश्वभरका साधु तथा भक्तजनहरुले आस्थाको डुबकी लिने गर्दछन् । कुम्भ मेलामा शाही स्नानको विशेष महत्व हुन्छ ।