भाजपालाई दिल्लीमा स्पष्ट बहुमत, २७ वर्षपछि सत्तामा
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
1.8k
Shares
काठमाडौँ । भारतको दिल्लीमा भारतीय जनता पार्टी भाजपाको सरकार बन्ने भएको छ । विधान सभाको निर्वाचनमा भाजपाले स्पष्ट बहुमतसहित सरकार बनाउने भएको हो ।
७० सिटका लागि भएको मतदानमा भाजपाले स्पष्ट बहुमत पाएको हो । यसअघि लगातार तीन पटक सत्ता चलाएको आम आदमी पार्टी आजपा कम सिटमा खुम्चिएपछि भाजपाले बाजी मारेको हो ।
भाजपाले ४८ सिट जित्ने भएको हो । भाजपाले ४४ सिट जितिसकेको छ भने चार सिटमा अगाडि छ । दोस्रो स्थानमा खुम्चेको आजपा २२ सिटमा खुम्चेको छ ।
बुधबार भएको चुनावमा ५७.८५ प्रतिशत मत खसेको थियो । यसअघि सन् २०२० मा आपले ६२ सिट जित्दा भाजपाले ८ सिट जितेको थियो । कांग्रेस र अन्य दलहरुले कुनै पनि सिट जित्न सकेनन् ।
आपबाट पार्टी प्रमुख अरविन्द केजरीवाललेसमेत चुनाव हारेका छन् ।
यो नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदी भए सबै सम्भव हुने प्रमाणित गरेको छ ।
लोकसभा चुनावमा इन्डिया ब्लकका साझेदार रहेका पाँच पार्टी विधान सभा निर्वाचनमा भने एक आपसमा भिडेका थिए । आम आदमी पार्टी (आप_ र कांग्रेस सबै ७० सिटमा आपसमा भिडेका थिए । त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाले ६, कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट र कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट लेलिनिस्टले २–२ सिटमा आफ्ना प्रत्यासी उठाएका थिए ।
भारतीय जनता पार्टी (भाजपा) ले ६८ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो । दुई सिट सहयोगी पार्टीलाई दिएको थियो । जसमा जनता दल युनाइटेड (जेडीयू) र लोक जनशक्ति पार्टी–रामविलास (एजेपी–आर) ले एक एक सिट पाएका थिए ।
महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ३० सिटमा चुनाव लडेको थियो । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुुख्यमन्त्री एकनाथ सिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेको थियो ।
त्यस्तै बहुजन समाज पार्टी (बीएसपी) ७०, असरुद्धीन ओवेसीको अल इन्डिया मजलिस–ए–इत्तिहादुल मुस्लिमिनले १२ सिटमा चुनाव लडेको थियो ।
यसअघिको निर्वाचनमा आपले बाजी मारेको भए पनि यसपालि भने आपको राजनीति बिग्रिएको हो ।